न्यूयोर्क:= गर्भपतनसम्बन्धी अधिकारको पक्षमा अमेरिकाका सबै राज्यमा दशौं हजार मानिसले प्रदर्शन गरेका छन् । टेक्सासमा हालै गर्भपतनको अधिकार अति साँघुरो बनाउनेगरी लागू भएको कानुनका विरुद्ध अमेरिकाभर प्रदर्शन भएको हो । अमेरिकाका सबै ५० राज्यमा प्रदर्शन भएको छ ।
टेक्सासमा लागू भएको कानुन अनुसार कुनै पनि महिलाले गर्भ रहेको ६ हप्ताभन्दा पछि गर्भपतन गराउन पाउने छैनन् । ६ हप्तापछि गर्भपतन गराएमा ती महिला, गर्भपतन सेवा प्रदान गर्ने क्लिनिक तथा चिकित्सकविरुद्ध कुनै पनि व्यक्तिले उजुरी दिनसक्ने व्यवस्था कानुनमा छ ।
टेक्सासको जस्तै कानुन अरू राज्यमा पनि ल्याउने तयारी भइरहँदा प्रजनन् अधिकारमा महिलाको छनोटका पक्षधरहरू संविधानले सुरक्षित गरेको व्यवस्थामाथि आक्रमण हुनसक्ने भन्दै चिन्तित छन् । देशभर गर्भपतनलाई कानुनी मान्यता प्रदान गरेको सन् १९७३ को रोज भर्सेज वेड मुद्दाको फैसला उल्ट्याउन माग गर्दै दायर रिटमा सर्वोच्च अदालतमा आउँदो महिनामा सुनुवाइ हुँदैछ ।
वासिंटन डिसीस्थित सर्वोच्च अदालतको भवनअगाडि प्रदर्शनकारीले गर्भपतनलाई कानुनी मान्यता प्रदान गर्न माग गर्दै ¥याली गरेका छन् । वासिंटनमा गर्भपतनविरोधी (प्रो–लाइफ) प्रदर्शनकारीले ‘काउन्टर प्रोटेष्ट’ गरेका थिए ।
अमेरिकी सर्वोच्च अदालतमा विचाराधीन रहेको उक्त विषयको सुनुवाइ अघि बढिरहेकाले पनि अधिकारकर्मीहरू सडकमा उत्रिएका हुन् । कति समयको गर्भपतन गर्न पाउने भन्ने विषय सधैं विवादको विषय बन्दै आएको छ अमेरिकामा ।
देशैभर महिला तथा अधिकारकर्मीले गर्भपतनको पक्षमा प्रदर्शन गरिरहेका बेला केही समूहहरूले भने त्यसको विरोधमा पनि प्रदर्शन गरेका छन् । तपाईंहरूको हातमा निर्दोष शिशुको रगत लत्पतिएको छ भन्ने प्लेकार्ड बोकेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले मुख्य सडकमा निस्कन दिएका छैनन् ।




















