आर्मीलाई भलिबल च्याम्पियनसिपको उपाधि।

काठमाडौं:= साबिक विजेता हेल्प नेपाललाई ३-१ सेटमा पराजित गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पुरुषतर्फको एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को उपाधि जितेको छ । सेनाले जित हात पार्नेक्रममा पहिलो सेट २६-२४ को संघर्षपूर्ण जित निकाल्यो । दोस्रो सेट १७-२५ ले हेल्प नेपाललाई सुम्पन पुगेको सेनाले तेस्रो सेटमा सम्हालिँदै २५-१८ ले आफ्नो पक्षमा पार्‍यो । चौथो सेट निकै नै रोमाञ्चकरूपमा ३३-३१ को सघर्षपूर्ण जित निकाल्दै सेनाले ट्रफीलाई आफ्नो पकडमा लिएको हो ।

च्याम्पियन टोलीले नगद चार लाख प्राप्त गर्‍यो भने उपविजेता टोलीले नगद दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । दशरथ रंगशालामा भएको प्रतियोगिताको पुरुषतर्फ एपिएफ क्लबलाई ३-० ले पराजित गर्दै पुलिसले तेस्रो स्थान प्राप्त गर्‍यो । पुलिसले एपिएफलाई २५-१७, २५-१८ र २५-१४ को सहज जितका साथै नगद एक लाख प्राप्त गरेको हो ।

पुरुषतर्फ सेनाका मानबहादुर श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिनुभयो । यस्तै बेस्ट सर्भरमा सेनाका दुर्गा खड्का, बेस्ट डिफेन्डरमा एपिएफका विनोद चन्द, बेस्ट सेटरमा पुलिसका इमबहादुर राना, बेस्ट स्पाइकरमा हेल्प नेपालका विनित कुमार, बेस्ट ब्लकरमा सेनाका हरि अधिकारी घोषित हुनुभयो ।

उत्कृष्ट खेलाडीले नगद २५ हजारका साथै विधागततर्फका सबैले जनही १० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो । विजयी खेलाडीहरूलाई प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठ, सांसद विमल केडियालगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

यस्तै, महिलातर्फ साबिक विजेता विभागीय टोली एपिएफ क्लबलाई पराजित गर्दै न्यु डायमन्ड क्लबले उपाधि जित्यो । डायमन्डले एपिएफमाथि ३-१ ले फाइनलमा पराजित ग¥यो । पहिलो सेट २४-२६ ले गुमाउन पुगेको डायमन्ड त्यसपछि सम्हालिँंदै लगातार तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको हो । दोस्रो सेटमा २५-२१ ले जित निकालेको डायमन्डले तेस्रो सेट २५-१७ र चौथो सेट २५-१५ ले जित्दै उपाधि आफ्नो पक्षमा पारेको हो ।

सेनाको त्रिभुवन आर्मी क्लबले पुलिसलाई पराजित गर्दै तेस्रो स्थान प्राप्त गर्‍यो । सेनाले पुलिसलाई २५-१७, २५-२०, २५-१७ को सहज जित निकाल्दै तेस्रो स्थान सुरक्षित गर्न सफल भएको हो ।

महिलातर्फ न्यु डायमन्डकी प्रतिभा माली उत्कृष्ट खेलाडी चुनिनुभयो । यस्तै बेस्ट सर्भरमा सेनाकी संगम महतो, बेस्ट डिफेन्डरमा डायमन्डकै सलिना महर्जन, बेस्ट सेटरमा डायमन्डकी अरुणा शाही, बेस्ट स्पाइकरमा सेनाकी शान्ति थारु, बेस्ट ब्लकरमा एपिएफकी सरस्वती चौधरी घोषित हुनुभयो । यस्तै डायमन्डका कुमार राई महिलातर्फको उत्कृष्ट प्रशिक्षक बन्न सफल हुनुभयो ।

च्याम्पियन टोलीले नगद चार लाख प्राप्त गर्‍यो भने उपविजेता टोलीले नगद दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै, तेस्रो भएको सेनाको त्रिभुवन आर्मी क्लबले नगद एक लाखसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो । यस्तै, उत्कृष्ट खेलाडीले नगद २५ हजारका साथै विधागततर्फका सबैले जनही १० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।