गीतकार शिव पौडेललाई ‘राष्ट्रिय संगीतकर्मी सम्मान’

काठमाडौं:= गीतकार तथा संगीत व्यवसायी शिव पौडेल ‘राष्ट्रिय संगीतकर्मी सम्मान’बाट सम्मानित हुनुभएको छ । राष्ट्रिय नाचघर जमलमा आयोजित ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड’मा पौडेललाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार संघका अध्यक्ष रविन्द्र खड्कालगायतले सम्मान प्रदान गर्नुभएको हो ।

उहाँ डेढ दशकदेखि नेपाली गीतसंगीतको व्यवसायमासमेत आबद्ध हुनुहुन्छ । संगीत उत्पादन एवं बजार व्यवस्थापन गर्ने उद्देश्यले ‘पशुपति म्युजिक प्रालि’ समेत सञ्चालन गर्दै आउनुभएका पौडेले पेशागत विभिन्न संघसंस्थामा समेत आबद्ध हुनुहुन्छ ।

‘तिमी बिना एक्लै भाछु म’, ‘स्याङ्जाली झापाली’, ‘तिमी कसको हुने होला’, ‘माया एउटासँग’, ‘म त तिम्रो मान्छे बन्न सकिनँ’, ‘बदलियौ तिमी’, ‘साँघुरो लाग्यो यो संसार’, ‘चरीले झैं गुंड’, ‘जहाँ छोड्यौ’, ‘झलिको आउँदैनर..’लगायत पशुपति म्युजिकबाट आएका लोकप्रिय गीत हुन्, भने पौडेलले ‘भाग्य मिलेन’लगायत थुप्रै लोकप्रिय गीत लेख्नुभएको छ ।

पौडेल डेढ दशकअघिदेखि नेपाली गीत-संगीतको व्यवसायमा आवद्ध रहि विभिन्न शैलीका गरी एक हजारभन्दा बढी गीत प्रकाशन गरेर एक सफल म्युजिक व्यावसायीको छवि बनाउनुभएको छ । उहाँ आफ्नोे पेशासँग सम्बन्धित संघसंस्थामा उत्तिकै क्रियाशील हुनुहुन्छ ।

उहाँले २०७६ सालमा थाइल्याण्डमा आयोजना भएको ‘सुन्दरादेवी म्युजिक अवार्ड’ समारोहमा ‘सर्वोत्कृष्ट गीतकार’को अवार्ड प्राप्त गर्नुभएको थिए भने २०७६मै यूएईमा आयोजित ‘छायाछवि अन्तर्राष्ट्रिय अनर अवार्ड’ समारोहमा उहाँको म्युजिक कम्पनी ‘पशुपति म्युजिक प्रालि’ले सर्वोत्कृष्ट दश म्युजिक कम्पनी’को अवार्ड पाएको थियो ।

यस्तै उहाँ २०७५ सालमा आयोजित ‘म्युजिक खबर म्युजिक अवार्ड’मा समेत सम्मानित हुनुभएको थियो । यस क्षेत्रमा उहाँले पुर्‍याएको योगदानस्वरूप यस्तै अन्य विभिन्न संघसंस्थाले उहाँलाई पुरस्कार, सम्मान तथा अवार्ड प्रदान गर्ने गरेका छन् ।