सरकारले अझै पूर्णता पाउन नसक्नु देशकै लागि गम्भीर चिन्ताको विषय: निधि।

काठमाडौं:= सत्तारूढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार गठन भएको झण्डै तीन महिना पुग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता नपाउनु दुःखद भएको बताउनुभएको छ । गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानद्वारा शनिबार काठमाडौंमा आयोजित समारोहमा बोल्दै उपसभापति निधिले सरकारले अझै पूर्णता नपाउनु सिंगो देशकै लागि चिन्ता र दुःखको विषय भएको स्मरण गराउनुभयो ।

निधिले भन्नुभयो, ‘८१ दिन भो गठबन्धनको तर्फबाट सरकार बनेको तर गठबन्धनबीच सहमति नभएको कारण हाम्रै पार्टीका सभापति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले मन्त्रिमण्डललाई पूर्णता दिन सकेको छैन । मन्त्रिमण्डलले अझै पूर्णता नपाउनु भनेको यो सारै चिन्ता र दुःखको विषय हो । नेपाली कांग्रेसका लागि पनि र गठबन्धन दलहरूको लागि पनि ।

यो नेपाली कांग्रेस र सरकारमा सहभागी दलहरूको लागि मात्रै होइन पूरै नेपालको लागि चिन्ता र दुःखको विषय हो कि आजको मितिसम्म पनि सरकारले पूर्णता पाउन सकेन । त्यसकारण अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गठबन्धन दलका सबै दलका नेता र पदाधिकारीहरूसँग म के अनुरोध गर्न चाहन्छु भने अब धेरै ढिला भयो । अब छिटोभन्दा छिटो मन्त्रिमण्डलले पूर्णता पाउने गरी तपाईंहरूको निर्णय आउनैपर्ने भयो । अब धेरै पर्खन सकिँदैन ।’

उपसभापति निधिले सरकारले पूर्णता पाउन अझै नसकेबाट सत्तारूढ गठबन्धन चुनावसँग मिलेर अघि बढ्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको टिप्पणी गर्नुभयो । उहाँले गान्धीको अहिंसाको बाटोबाट अघि बढेर मात्रै हरेक राष्ट्रले शान्ति र समृद्ध प्राप्त गर्न सक्ने बताउनुभयो ।

भ्रष्टाचार छानबिन गर्न पूर्व-प्रधानन्यायाधीशको नेतृत्वमा आयोग गठन गरौँं : केसी 

कांग्रेस नेता अर्जुननरसिंह केसीले हिंसालाई त्यागेर मात्रै गान्धीले देखाउनु भएको अहिंसाको बाटोमा अघि बढ्न सकिने स्पष्ट पार्नुभयो । गान्धी दार्शनिक चिन्तक मात्र नभएर त्यसलाई राजनीतिमा प्रयोग गर्ने व्यक्तित्व पनि भएको केसीको भनाइ थियो । उहाँले भन्नुभयो- ‘शान्ति भनेको विधिको शासन पनि हो । विधिविहीनता हिंसा पनि हो । अहिले विधिलाई स्थापित गर्न सरकारले पूर्व–प्रधानन्यायाधीशको अध्यक्षतामा भ्रष्टाचार छानबिन आयोग गठन गर्नुपर्दछ । हामी सत्ता र शक्तिका लागि होइन, सत्य र विवेकका लागि लड्छौँ भन्ने प्रण गरौँ ।’

कार्यक्रमका सभापति पुरुषोत्तम दाहालले अहिंसाबाट भएको परिवर्तन स्थायी हुने भएकाले गान्धीको विचारलाई व्यवहारमा उतार्नुपर्ने कुरामा जोड दिनुभयो । अधिवक्ता लक्ष्मी दाहालले अहिंसा, सरलता र स्वतन्त्रता जस्ता गान्धीका सन्देशलाई पालन गर्नु नै उहाँप्रतिको सच्चा सम्मान हुने बताउनुभयो ।