बंगलादेशसँगको व्यापार घाटा न्यूनीकरण गर्नमा जोड।

काठमाडौं:= नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीबीच महासंघ सचिवालयमा भेटवार्ता भएको छ । भौगोलिक दूरीका हिसाबले जम्मा २७ किलोमिटर टाढा रहेको दुई मुलुकको व्यापारिक सम्बन्ध आशातितरूपमा बलियो हुन नसकेको भन्दै आगामी दिनमा आर्थिक तथा व्यापारिक सम्बन्धलाई सुदृढ बनाउन दुवै पक्षले प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपालको कुल व्यापारमा दक्षिण एसियामा बंगलादेश दोस्रो ठूलो व्यापार साझेदार रहेको छ । तर पनि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार पछिल्लो आर्थिक वर्षमा नेपालले जम्मा ५.७ मिलियन डलर बराबर निर्यात र बंगलादेशबाट ९०.६ मिलियन डलर बराबरको आयात गरेको थियो । यसरी हेर्दा दुवै मुलुकबीचको द्विपक्षीय व्यापारमा ठूलो व्यापार घाटा नेपालले बेहोर्दै आएको छ ।

नेपालले हाल बंगलादेशमा मुसुरो दाल, गहुँको चोकर, रंगरोगनका सामग्री, वनस्पति तथा वनस्पतिजन्य वस्तुलगायत निर्यात गर्दै आएको छ भने जुट, औषधि, विद्युतीय सामान आयात गर्दै आएको छ । २०७८ असारसम्म नेपालमा कृषि तथा वनमा आधारित, ऊर्जा, आईटी, उत्पादनमूलक, खानी, सेवा र पर्यटन क्षेत्रमा गरी ७४ वटा संयुक्त लगानीका परियोजना रहेका छन् ।

व्यापार घाटा कम गर्न तथा आपसी आर्थिक सम्बन्धलाई थप विस्तार गर्न ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा राजदूत चौधरीले जोड दिनुभएको महासंघले जनाएको छ । महासंघ अध्यक्ष गोल्छाले बंगलादेश कम विकसित मुलुकबाट स्तरोन्नतिको प्रक्रियामा रहेकाले सो सम्बन्धी अनुभव नेपालका लागि उपयोगी हुुने बताउनुभयो ।

बंगलादेशले छोटो समयमै गरेको आर्थिक विकासको अध्ययन गर्न नेपाली व्यवसायीको टोली स्थलमार्गबाटै भ्रमण गर्ने योजना रहेको जानकारी गराउँदै गोल्छाले बंगलादेशसँग आर्थिक सम्बन्ध मजबुत बनाउन नेपाली निजी क्षेत्र लालायित रहेको भन्दै आर्थिक कूटनीतिमार्फत् सहयोग गर्न आग्रह गर्नुभयो । साथै उहाँंले व्यापार घाटा कम गर्न नेपालबाट ऊर्जा निर्यात बलियो स्रोत हुने बताउनुभयो ।

राजदूत चौधरीले द्विपक्षीय व्यापार बढ्न नसकेकाले यसलाई गम्भीरतापूर्वक लिई सम्भावनाका पाटाहरू खोज्नुपर्ने र द्विपक्षीय लगानी सम्झौता हुनुपर्नेमा जोड दिनुुभयो । स्थलमार्गका साथै हवाईमार्गबाट पनि नेपालको विराटनगर विमानस्थल र बंगलादेशको विमानस्थलबीच सिधा हवाई सेवा सञ्चालन गर्न सकिने सम्भावना रहेको उहाँले बताउनुभयो ।

साथै आपसी आर्थिक सम्बन्ध विस्तारका हरेक प्रयास र दुवै देशका निजी क्षेत्रबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा राजदूतावासको सदैव सहयोग रहने विश्वास दिलाउनुभयो । सो अवसरमा महासंघका उपाध्यक्षद्वय अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई तथा कार्यकारिणी समिति सदस्य एवं व्यापार समिति सभापति विजयसिंह वैधको उपस्थिति रहेको महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।