अफगानिस्तानका शहरमा झुण्ड्याइयो चार व्यक्तिको शव।

काबुल:= अफगानिस्तानमा तालिवानले चार व्यक्तिको हत्या गरेर उनीहरूको शव सार्वजनिक स्थानमा झुण्ड्याएका छन् । हेरात शहरमा चारजनाको हत्या गरी उनीहरूको शव स्थानीय चौराहमा झुण्ड्याइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हत्या गरिएका व्यक्ति अपहरणकारी रहेको र चेतावनीस्वरूप शव सार्वजनिक स्थानमा झुण्ड्याइएको तालिवानले बताएको छ। उनीहरूलाई गोली हानेर शनिबार हेरातका विभिन्न चौरमा झुण्ड्याइएको हो ।

तालिवानका नेता मुल्ला नुरुद्दिन तुराबीले यहीँ हप्ता आफ्नो शासन व्यवस्थामा सार्वजनिक स्थानमा नभए पनि मृत्युदण्ड र शरीरका अंग काट्नेसहितका गम्भीर सजाय हुने बताएका थिए । त्यसको केही दिनपछि नै चारजनाको हत्या गरेर सार्वजनिक स्थानमा झुण्ड्याइएको हो ।

अमेरिकाले शरीरका अंग काट्नेसहितका सजायको घोषणा तालिवानले गरेपछि त्यसको निन्दा गरेको थियो । अफगानिस्तानको कानुनमा मृत्युदण्डको सजायको व्यवस्था रहे पनि पछिल्लो दुई दशक सार्वजनिक रूपमा यसलाई प्रयोग गरिएको थिएन । मृत्युदण्ड दिइए पनि सार्वजनिक स्थानमा हुने गरेको थिएन ।

तालिवानले हत्या गरिएका चारजनाको शव शहरका खुला चौरमा क्रेनमार्फत झुण्ड्याइएको स्थानीय बासिन्दाले एसोसिएटेड प्रेससँग भनेका छन् । तर, तालिवानी अधिकारीले यो घटनाको पछिल्लो समयसम्म आधिकारिक रूपमा जिम्मेवारी लिएका छैनन् ।

हेरात शहरको ती दृश्यहरू सामाजिक सञ्जालमार्फत् संसारभर फैलिएका छन् । गत अगष्ट १५ मा तालिवानले काबुल नियन्त्रणमा लिएको थियो । अहिले तालिवानको अन्तरिम सरकारले अफगानिस्तान शासन चलाइरहेको छ ।