घरेलु मैदानमै भिल्लासँग १-० गोलले हार्‍यो म्यानचेस्टर युनाइटेड।

लन्डन:= म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा घरेलु मैदान ओल्ड ट्रफोर्डमै स्तब्ध बनेको छ । खेलको अन्त्यतिर पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेस पेनाल्टीमा चुक्दा युनाइटेड एस्टन भिल्लासँग १-० ले स्तब्ध बनेको छ ।

निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी रहँदा कोर्टने हायुजले गोल गरेपछि युनाइटेड पछि परेको हो । त्यसपछि इन्ज्युरी समयमा पेनाल्टीमार्फत् गोल गर्ने सुनौलो मौकालाई फर्नान्डेजले खेर फाल्नुभयो । युनाइटेडले यसअघिका दुई खेलमा समेत गोल गर्न सकेको छैन । यस्तै, काराबाओ कपमा समेत उसले वेस्ट हृयामसँग पराजय भोगेको थियो ।

खेलको अन्त्यतिर भिल्लाले दुई ठूला अवसरसमेत गुमाएको थियो । ६ यार्डभित्रबाट म्याट टार्गटले गरेको प्रहारलाई युनाइटेडका किपर डेविड दी गियाले जोगाउनुभएको थियो । यस्तै इज्री वाटकिन्सको प्रहारलाई समेत गियाले असफल पारिदिनुभयो ।

अर्कातिर इमिलिनो मार्टिनेजले मेगुइरोको हेडरलाई समात्नुभयो भने पाउल पोग्बाले पोस्ट बाहिर प्रहार गरेपछि युनाइटेडले बराबरी गोल गर्न सकेन । त्यसअघि खेलको १६औं मिनेटमा जोन म्याक्जिनको पासमा माट टार्गेटको प्रहार पोस्टमाथिबाट थोरै बाहिरिँदा एस्टन भिल्ला अग्रता लिनबाट चुक्यो । ४०औं मिनेटमा डगलस लुइजको पासमा कोन्साले आरोन वान विशाकालाई बिट गर्दै गरेको हेडर क्रसबारबाट थोरै बाहिरियो ।

८८औं मिनेटमा कोर्टने हायुजले डगलस लुइजको पासमा गोल गर्दै पाहुना टोलीलाई १-० को अग्रता दिलाउनुभएको थियो । इन्ज्युरी समयमा बु्रनो फर्नान्डेसको क्रसलाई हायुजले पेनाल्टी क्षेत्रमा हातले छुन पुगेपछि रेफ्रीले म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी प्रदान गर्नुभयो । ब्रुनो फर्नान्डेसको पेनाल्टी आकासिएपछि युनाइटेड घरमै १-० ले स्तब्ध बन्न पुगेको हो ।

नयाँ सिजनको प्रिमियर लिगमा युनाइटेडको यो पहिलो हार हो । यो हारपछि युनाइटेड ६ खेलबाट १३ अंक जोडेर चौथो स्थानमा रहेको छ । एस्टन भिल्ला १० अंक जोडेर सातौं स्थानमा उक्लिएको छ ।