एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेद्वारी घोषणा, के – के छ्न त आचार्यको प्रतिबद्धता?

काठमाडौं:= गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष कुल आचार्यले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच उहाँले उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । एनआरएनएको १०औं विश्व सम्मेलन आगामी अक्टोबरको २३-२५ मा काठमाडौंमा हुँदैछ ।

उहाँले एनआरएनएलाई थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउन आफूले अध्यक्षमा उम्मेद्वारी दिने निर्णय गरेको बताउनुभयो । उहाँले आफू निर्वाचित भएमा कोरोनाका कारण रोजगारी गुमाएर फर्किएका युवाका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ सुरु गर्ने, विदेशमा हुर्किरहेका बालबालिकालाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गरी अनलाइन कक्षा सञ्चालन गर्ने, एनआरएन खेल प्रतिभाको विकासमा सघाउन ‘एनआरएनए खेलकुद प्रतिष्ठान’ स्थापना गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आइएलओको सहयोगबाट सञ्चालित परियोजनामा भएको अनियमितताको छानबिनको पनि माग गर्नुभएको छ । आचार्यले संघभित्र सानो समूहले चरम दुरूपयोग गर्ने तर ठूलो समूहमाथि दोष लगाउने प्रवृत्ति रहेको भन्दै आफू निर्वाचित भएमा संस्थाभित्रका अनियमितता बाहिर ल्याउने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘एनआरएनएलाई सही अर्थमा आमप्रवासी नेपालीको साझा संस्था बनाउने मेरो अभियान हो, संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिनेछु, पैतृक सम्पत्तिको अधिकार, राहदानीसहित तेस्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्न उच्च प्राथमिकता  दिनेछु ।’ उहाँले आफ्नो दुईवर्षे कार्यकालमा संसारभर एनआरएनएको पञ्जीकृत सदस्य संख्या ५ लाख पुर्‍याउने र राष्ट्रिय समन्वय परिषद्को संख्या कम्तीमा १ सय पु¥याउने  दाबी पनि गर्नुभएको छ ।

गैरआवासीय नेपालीमात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपालीमूलका मानिसलाई पनि जोड्दै थाइल्यान्ड, म्यानमारलगायतमा बसोबास गर्ने नेपालीलाई ‘पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) को मान्यता दिलाउन पहल गरिने बताउनुभयो । साथै आचार्यले नेपालमा गैरआवासीय नेपालीको मात्रै नभई प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पनि पहल गर्ने बताउनुभयो । नेपालबाट अवैधरूपमा विदेश गइरहेको सम्पत्तिलाई रोकी नेपालमै लगानीको वातावरण बनाउनुपर्नेमा उहाँको जोड थियो ।

पर्वतको धाइरिङमा जन्मिनुभएका आचार्यले हाल बेलायतमा व्यवसाय गर्दै आउनुभएको छ । एनसिसी अमेरिकाका पूर्वअध्यक्ष डा. केशव पौडेलले महासचिव पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । त्यस्तै गैरआवासीय नेपाली अभियन्ता जानकी गुरुङ, आरके शर्मा, प्रवीण गुरुङ, राज रेग्मी, खगेन्द्र न्यौपाने, नारायण आचार्य, मनोज गोर्खाली, भोमा लिम्बू, हिमाल गुरुङलगायतले पनि आचार्य टिमबाट विभिन्न पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ ।