काठमाडौं:= आगामी शानिबारदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्नका लागि पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवम् विश्व चर्चित क्रिकेटर शाहिद अफ्रिदी नेपाल आएका छन् ।
हिजो बिहिवार त्रिभुवन विमानस्थल झरेका उनलाई ईपीएल आयोजक टीमले स्वागत गरेको थियो । नेपाल झरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अफ्रिदीले आफूले नेपालको क्रिकेट क्षेत्र माथि उठेको हेर्न चाहेको बताए ।
नेपाल क्रिकेटलाई अझै सहयोग र सपोर्टका लागि आफूले ईपीएल खेल्ने निर्णय गरेको अफ्रिदीको भनाइ छ । साथै उनले आफूलाई नेपाल घरजस्तै लागेको र आउन पाउँदा खुसी लागेको बताए ।
व्यक्तिगत कामका कारण फर्कनुपर्ने भएकाले अफ्रिदीले दुईवटा मात्र खेल खेल्नेछन् । उनले भने, ‘मैले दुईवटा खेल खेलेर पाकिस्तान फर्कन्छु ।’ अफ्रिदीले ईपीएलमा काठमाडौं किंग्स इलावेनबाट खेल्दैछन् ।
सन्दिप लामिछाने कप्तानीको रहेको उक्त टिमले लिगको उद्घाटन खेलमा साविकको बिजेता ललितपुर पेट्रिएट्ससंग असोज ९ गते प्रतिस्पर्धा गर्दैछ। मुलुकका विभिन्न ६ शहरको नाममा हुने फ्रन्चाईज प्रतियोगीता नेपालको सर्वाधिक महँगो लिग हो। ईपीएलको चौँथो संस्करण खेल्नका लागी उल्लेखनियरुपमा विदेशी खेलाडिहरु भित्रिएका छन्।




















