मन्त्रिपरिषद् विस्तार गर्न नसक्नेले एमालेसँग लड्ने धाक लगाउने? : केपी ओली।

काठमाडौं:= एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनले आगामी चुनावमा एमालेसँग लड्नका लागि एकजुट भएर आउन चुनौती दिनुभएको छ । काठमाडौंमा बिहीबार आयोजित पार्टी कार्यक्रममा ओलीले पार्टीलाई एकजुट बनाएर जान कार्यकर्ताहरूलाई निर्देशन दिँदै सत्तारूढ गठबन्धनलाई एकजुट भएर आउन चुनौती दिनुभयो ।

‘एमालेसँग लड्नेहरूले कमसेकम आफू त एकताबद्ध भएर आऊ न । यो पाँचवटाको पञ्चे गुट छ नि । मजबुद एमालेसँग लड्न यत्तिकै लिरिखिरी पाराले मन्त्रिमण्डल बनाउन नसक्ने एमालेसँग लड्ने गफ दिने’, ओलीले थप्नुभयो, ‘मन्त्रिपरिषद्को विस्तार गर्न नसक्ने एमालेसँग लड्ने धाक लाउने ? एकता देखियो त्यहाँ एकता ।’

ओलीले माधवकुमार नेपाल कांग्रेसको पछि लग्गू भएको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले माधव नेपाल समूहले सत्ताको दुरुपयोग गरेर पार्टी कार्यालय कब्जा गर्ने प्रयास गरिरहेको बताउनुभयो । ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी पदाधिकारी पार्टी भएको भन्दै व्यंग्य गर्नुभयो ।

‘अघि यसो हेरेको माने (माधव नेपाल) पार्टी पदाधिकारी पार्टी भएछ,’ उहाँले भन्नुभयो, ‘अझै पदाधिकारी बन्ने मान्छे नपुगेर कोही बिकाउको माल छ कि भनेर खोज्दै हुनुहुन्छ ।’ अध्यक्ष ओलीले पद दिन्छु कि भनेर अझै केही मान्छेलाई तान्ने प्रयास नेपालले गरिरहेको पनि बताउनुभयो । ‘पार्टी पदाधिकारी बनाउन मान्छे नपुगेर तपाईं यो पद दिन्छु, तपाईं आउनुपर्‍यो भनेर तान्न खोज्दै हुनुहुन्छ,’ उहाँले भन्नुभयो ।

भविष्यमा एमाले सरकारमा आएमा तीन दिनभित्र सरकार बनाउने ओलीले सुनाउनुभयो । उहाँले प्रधानमन्त्रीले शपथ लिएकै दिन पनि मन्त्रिपरिषद्लाई पूर्णता दिने बताउनुभयो । प्रधानमन्त्रीले शपथ लिएको ७५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाएको ओलीको भनाइ थियो ।

उहाँले १४ महिनामा मन्त्रिपरिषद्ले पूर्णता पाए धन्यवाद दिनुपर्ने भन्दै व्यंग्य गर्नुभएको थियो । अध्यक्ष ओलीले सरकार सिस्नो जस्तै भएको बताउनुभयो । ‘सरकार सिस्नो जस्तै छ, जता छोयो त्यतै पोल्छ । आउँदो चुनावसम्म यसलाई तातोपानी लगाएर ठीक पार्नुपर्छ नत्र पोलिरहने भयो,’ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकार दुई वर्ष टिकेको भए धेरै पार्टीका सर्टर बन्द हुने दाबी गर्नुभयो । ‘हाम्रो सरकार बाँकी दुई वर्ष टिकेको भए धेरै राजनीतिक दलका सर्टर बन्द हुन्थे । त्यही भएर हामीलाई हटाइयो,’ उहाँले भन्नुभयो ।