लन्डन := इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सर्वाधिक आम्दानी गर्ने फुटबल खेलाडी बन्नुभएको छ । फोब्र्स म्यागजिनले सार्वजनिक गरेको सूचीअनुसार रोनाल्डो सन् २०२१ मा सर्वाधिक आम्दानी गर्ने फुटबलरको सूचीमा अग्रस्थानमा हुनुहुन्छ ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) का लियोनल मेस्सीलाई पछि पार्दै रोनाल्डो सर्वाधिक कमाउने फुटबल खेलाडी बन्नुभएको हो । फोब्र्सका अनुसार रोनाल्डोको कमाइ १२५ मिलियन अमेरिकी डलर रहेको छ । यस्तै, दोस्रो स्थानमा रहनुभएका मेस्सीको कमाइ ११० मिलियन डलर रहेको छ ।
तेस्रो स्थानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) कै ब्राजिलियन स्टार नेमार हुनुहुन्छ । उहाँले ९५ मिलियन डलर कमाउनुभएको छ । पीएसजीकै युवास्टार केलियन एमबाप्पे पहिलोपटक सूचीको चौथो स्थानमा रहँदा उहाँको कमाइ ४३ मिलियन अमेरिकी डलर रहेको छ ।
लिभरपुलका मोहमद सलाह ४१ मिलियन अमेरिकी डलरसहित पाँचौं स्थान, बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की ३५ मिलियनसहित छैटौं, आन्द्रेस इनिस्टा ३५ मिलियसहित सातौं र म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा ३४ मिलियनसहित आठौं स्थानमा हुनुहुन्छ । त्यसबाहेक रियल म्याड्रिडका ग्यारेथ बेल ३२ मिलियनसहित नवौं र रियलकै इडेन हाजार्ड २९ मिलियनसहित दशौं स्थानमा रहनुभएको छ ।




















