काठमाडौं:= राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित विनियोजन विधेयक, २०७८ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।
त्यसअघि बिहीबारकै प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित गरेको थियो । प्रतिनिधिसभाको बिहीबारको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधबीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको ‘आर्थिक विधेयक २०७८ लाई पारित गरियोस्’ र ‘राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरियोस्’ भन्ने दुवै प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधेयक बहुमतले पारित भएको घोषणा गर्नुभएको थियो । संघीय संसद्का दुवै सदनको बैठकबाट पारित बजेट प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाउनुभएको थियो ।
अघिल्लो सरकारले अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबर बजेट ल्याएको थियो । सो बजेटको आकार १४ अर्ब ७४ करोड रुपैयाँले घटाउँदै वर्तमान अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रतिस्थापन विधेयक अघि सार्नुभएको थियो । अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गते नै निष्क्रिय भएको थियो ।
वर्तमान सरकारले समयमै प्रतिस्थापन विधेयक ल्याउन नसक्दा भदौ ३१ गतेदेखि सरकारले संघीय सञ्चित कोषबाट खर्च गर्न नपाउने स्थिति निम्तिएको थियो । जसका संवैधानिक अंग तथा निकायहरू (संघीय सञ्चित कोषमाथि हुने व्ययभार) बाहेक अन्य खर्च रोकिएको थियो । राष्ट्रपतिले बजेट प्रमाणीकरण गरेसँगै एकसाता लामो बजेट होलिडे अन्त्य भएको छ ।
शुक्रबारदेखि नै सरकारले संघीय सञ्चित कोष चलाउन पाउनेछ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आफ्नो अवरोध कायमै राखेको थियो । एमालेले १४ जना सांसदहरूलाई कारबाही गरेको सूचना सभामुखले नटाँसेको भन्दै एमालेले सूचना टाँसको माग गर्दै प्रतिनिधिसभामा अवरोध गर्दै आएको छ ।
संसद् अवरोध हटाउन राष्ट्रियसभा अध्यक्षको प्रधानमन्त्रीलाई ध्यानाकर्षण
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना संघीय संसद्मा प्रमुख प्रतिपक्षी दल एमालेले गरिरहेको अवरोध हटाउन रुलिङ गर्नुभएको छ । बिहीबारको राष्ट्रियसभा बैठकमा पनि एमाले सांसदहरूले उठेर विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले सदन खुलाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो ।
अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘म नेपाल सरकार, प्रधानमन्त्रीलाई समस्या समाधानका लागि वार्ता र सहमतिबाट अग्रसर हुन आग्रह गर्दछु । तपाईंहरूले उठाएको कुरा राष्ट्रले सुनेको छ । छलफल र संवादबाट समाधान निस्कने हो । छलफलको माध्यममा जाऔं । हाउस नियमित गर्दा राम्रो हुन्छ।’
आफूले कारबाही सिफारिस गरेका १४ जना सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले काबारहीको सूचना ननिकालेको विरोधमा प्रतिपक्षी एमाललेले लगातार सदन अवरोध गर्दै आएको छ । एमालेको अवरोधकै बीच दुवै सदनबाट बजेट पारित भएको छ ।




















