अफगानिस्तानमा महिलाविहीन मन्त्रिपरिषद् विस्तार।

काबुल:= अफगानिस्तानमा कामचलाउ मन्त्रिपरिषद् पनि महिलाविहीन भएको छ । अफगानिस्तानमा तालिवानले सत्ता लिएपछि महिलाअधिकार कुण्ठित गरेको भन्दै सर्वत्र आलोचना भइरहेका बेला विस्तारित मन्त्रिपरिषद् पनि महिला विहीन भएको हो । अघिल्लो महिना सत्ता कब्जा गरेर केही हप्ता अगाडि कामचलाउ सरकार बनाएको तालिबानले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा पनि महिलालाई सहभागी गराएको छैन ।

इस्लामिक इमरेट्समा महिलालाई मन्त्री बनाउन नमिल्ने मान्यता अनुरुप महिलाहरूलाई मन्त्रिपरिषद्मा सहभागी नबनाएको बताइएको छ तर सूचना तथा सञ्चार राज्यमन्त्री जाबिहुल्लाह मुजाहिद्धिनले भने पछाडि पारिएको वर्ग तथा समुदायको सहभागीलाई ध्यान दिएर मन्त्रिपरिषद् विस्तार गरिएको दाबी गर्नुभयो ।

विस्तारित मन्त्रिपरिषद्मा हाजी नुरुद्धिन अजिजि कार्यवाहक अर्थमन्त्री, हजि मोहम्मद बशिर अर्थ उपमन्त्री, क्वालान्डर एबाड कार्यवाहक जनस्वास्थ्य मन्त्री, अब्दुल्बारी ओमर जनस्वास्थ्य उपमन्त्रीलगायत रहनुभएको छ । सार्वजनिक भएको मन्त्रीहरूको सूचीमा एकजना पनि महिलाको नाम छैन । मन्त्रिपरिषद्मा अहिले ३३ जना छन् । मन्त्रिपरिषद्मा महिला सहभागिताको बारेमा सोधिएको प्रश्नमा मन्त्री मुजाहिद्धिनले महिलाको विषयमा अहिलेको मन्त्रिपरिषद्ले नै उच्च प्राथमिकताका साथ काम गर्ने दाबी गर्नुभयो ।

महिलाका सबै माग र बालिकाहरूको शिक्षाका बारेमा समेत अहिलेको कामचलाउ सरकारले नै काम गर्ने उहाँको भनाइ थियो । ‘हामीले नै महिलाका माग र उनीहरूको शिक्षाका बारेमा पर्याप्त काम गर्नेछौं’, सञ्चारकर्मीसँग उहाँले भन्नुभयो ।

महिला र शिक्षा अधिकारलगायत आधारभूत अधिकार तथा स्वतन्त्रता कुण्ठित भएमा अफगानिस्तानको तालिवान सरकारलाई मान्यता नदिने र सहयोग नगर्ने अन्तर्राष्ट्रिय समुदाय र विभिन्न देशले चेतावनी दिँदै आएका छन् । तर, मन्त्री मुजाहिद्धिनले भने आफ्नो सरकारलाई अन्तर्राष्ट्रिय समुदायले पनि स्वीकार गर्दै सहयोग र सहकार्य आदान प्रदान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले देशभित्रको आन्तरिक आवश्यकता पूरा गर्न आन्तरिक अर्थतन्त्रले थेग्न सक्ने दाबी गर्नुभएको छ ।