कांग्रेस महाधिवेशन: संस्थापनइतर पक्षले उठायो निष्पक्षता र पारदर्शितामाथि प्रश्न।

काठमाडौं:= नेपाली कांग्रेसको संस्थापनइतर पक्षले डडेल्धुराको वडा अधिवेशन फेरि गर्नुपर्ने माग गरेको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले यसअघि भएको अधिवेशनलाई अमान्य ठहर गर्दै फेरि अधिवेशन गर्नुपर्ने माग गर्नुभएको हो । भदौ २५ मा जिल्ला कार्यसमिति र वडा सभापतिहरूको सहमतिविपरीत सभापति शेरबहादुर देउवा पक्षले वडा अधिवेशन गरेकोले त्यो अधिवेशन स्वीकार्य नहुने इतर पक्षको माग छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पौडेल पक्षले निष्पक्ष र पारदर्शी महाधिवेशन हुनेमा शंका पैदा भएको जनाएको छ ।

राज्यशक्ति र प्रशासनिक शक्तिको दुरुपयोग गरी एकपक्षीय रूपमा वडा अधिवेशन गरिएको पौडेल पक्षको निष्कर्ष छ । सोमबार पौडेल पक्षका शीर्ष नेताको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ‘कांग्रेसका डडेल्धुरा जिल्ला सभापति र कार्यसमितिकै सहभागिता र सहमतिलाई निषेधगरी कांग्रेस सभापतिले नै दिनुभएको वचनविपरीत राज्यशक्ति र प्रशासनिक शक्तिको दुरूपयोग गरी एकपक्षीय रूपमा गरिएको वडा अधिवेशनबाट लोकतान्त्रिक प्रणाली, पार्टीको मर्यादा र मूल्य-परम्पराको खिल्ली उडाइएको छ । यो अमान्य छ, त्यसैले यसको हामी घोर भत्र्सना गर्दछौं र यथाशीघ्र विधि र प्रक्रिया अनुसार नेतृत्व चयनको लागि पुनः निर्वाचन होस् भन्ने जोडदार आग्रह गर्दछौं । डडेल्धुरा जिल्लाको जस्तै अनियमितता र स्वेच्छाचारको पुनरावृत्ति अन्य २० जिल्लाहरूमा पनि हुन नपाओस् ।’

विधानविपरीत अधिकांश जिल्लामा क्रियाशील सदस्यताकै विषयमा गम्भीर विवाद उत्पन्न भएको भन्दै क्रियाशील सदस्यता वितरणमा भएको गैरजिम्मेवारी, मनपरि र अराजकताले कांग्रेस लोकतान्त्रिक आदर्श र संस्कार अनुरूपको पार्टी नरहने खतराको लक्षण देखा पर्न थालेको पौडेल पक्षको ठहर छ । पार्टीको स्थापित विधि र प्रक्रियाविरुद्ध खुल्ला हस्तक्षेप भएकाले अधिवेशनका दौरानमा लज्जाजनक स्थितिसमेत पैदा भएको विज्ञप्तिमा उल्लेख छ । जसले पारदर्शी र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न भई नेतृत्व चयन हुने परम्परामा विशृंखलता पैदा भएको निष्कर्ष पौडेल पक्षले निकालेको छ । जिल्ला सभापति कर्णबहादुर मल्लले स्थगितका लागि गरेको आग्रहलाई सुनुवाइ नगरी भदौ २५ मा वडा अधिवेशन भएको थियो ।

सोमबार आफूपक्षीय नेताहरूको बैठकपछि सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेता पौडेलले प्रधानमन्त्रीसमेत रहनुभका सभापति देउवाले पार्टीको महाधिवेशन निष्पक्ष र पारदर्शी हुन्छ भनेर आफ्नै जिल्लाबाट विश्वास दिलाउन नसकेको बताउनुभयो । ‘सभापतिजीले यो महाधिवेशन निष्पक्ष र पारदर्शी हुन्छ भनेर आफ्नै जिल्लाबाट विश्वास दिलाउन सक्नुभएन । यो त सुरूवातमै दाँतमा ढुंगा लागेको जस्तो भयो,’ उहाँले भन्नुभयो । पत्रकार सम्मेलनमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, रामशरण महत, शेखर कोइरालालगायत नेताहरू सहभागी हुुनुहुन्थ्यो ।

सभापति देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्न खोज्नुभयो : पौडेल 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको क्रियाशील सदस्यता वितरणदेखि वडा अधिवेशनसम्म धाँधली र षड्यन्त्र भइरहेको आरोप लगाउनुभएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको उहाँको आरोप छ । कांग्रेस सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले पार्टीको विधान, विधि र पद्धतिलाई मिल्काएर नेतृत्वले धाँधली र षड्यन्त्र गरेको आरोप लगाउनुभयो । ‘सत्ता र शक्तिको दुरुपयोग गर्न नेपाली कांग्रेस जस्तो पार्टीलाई सुहाउँदैन,’ पौडेलले भन्नुभयो, ‘नेपाली कांग्रेस जस्तो लोकतन्त्रको पाठशाला भएको पार्टीलाई आज सत्ता र शक्तिको प्रयोग गरेर अपवित्र पार्ने काम भएको छ । चुनावमा साथीहरूलाई पाखा लगाउने काम भएको छ । हामी त्यसको विरोध गर्न चाहन्छौं । वडा अधिवेशनहरू भयो भनेर नाटक रच्न खोजिएको छ । हामी यसलाई मान्दैनौँ ।’

सत्ता र शक्तिको दुरुपयोग गरेर डडेल्धुरालगायत कतिपय वडा अधिवेशन भएको र त्यो आफूहरूले नमान्ने उहाँले बताउनुभयो । नेपाली कांग्रेसलाई लोकतन्त्रको बाटोबाट कुनै पनि हालतमा विचलित हुन नदिने उहाँको भनाइ छ । ‘पार्टी प्रवेशको नाममा सच्चा कार्यकर्ताले स्थान पाएका छैनन्,’ उहाँले भन्नुभयो, ‘डडेल्धुराको वडा अधिवेशन हामी मान्दैनौं । धाँधली गरिएको छ । यसको विरोध गर्छौं । वडा अधिवेशनदेखि कब्जा गरेर पार्टीको सत्ता हत्याउन खोजिएको छ । त्यस्तो हुन दिँदैनौँ । नेपाली कांग्रेसलाई हामी लोकतन्त्रको बाटोबाट कुनै पनि हालतमा विचलित हुन दिँदैनौँ ।’

उहाँले नेताको सत्तालिप्साका कारण नै कांग्रेस कमजोर भएको आरोप लगाउनुभयो । ‘पार्टीको विधानविपरीत काम हुँदा आज कहाँ पुगेको छ ? महाधिवेशन चार वर्षमा पनि गरिएन,  उहाँले भन्नुभयो, ‘विधानको म्याद सकिएपछि संविधान टेकेर ६ महिना म्याद थपिएको छ । उहाँले भन्नभयो, ‘निर्वाचन आयोगसँग दर्ता बचाइदेऊ भनेर गुहार माग्नुपरेको छ । राष्ट्र हाँक्ने पार्टी आज कुन हालतमा पुगेको छ । यो सबै कसको कारणले भएको हो ? नेताको महŒवाकांक्षा र सधैँ कुर्सीमा बस्न चाहने, छोड्न नचाहने कारणले हो ।’

वरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीको क्रियाशील सदस्यता छानबिन गर्ने काममा समेत देशभर धाँधली गरेको आरोप लगाउनुभयो । उहाँले पार्टीको आगामी महाधिवेशनबाट सही नेतृत्व चयन गर्ने गरी अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।