विप्लवको चेतावनी : एमसिसी जबरजस्ती थोपर्न खोजे अहिलेको झिल्को राँको बन्छ।

काठमाडौं:= नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसिसी जबरजस्ती नेपालीको टाउकोमा थोपार्न खोजे विद्रोह हुने चेतावनी दिनुभएको छ । जुनसुकै मूल्य चुकाएर भए पनि नेपाली जनताको टाउकोमा एमसिसी थोपर्न नदिने उहाँले बताउनुभयो ।

अमेरिकी आर्थिक सहयोग एमसिसी खारेजीको माग गर्दै सोमबार काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै विप्लवले एमसिसी राष्ट्रिय स्वाधीनताको विरुद्धमा रहेकाले लागू गर्न नदिने बताउनुभएको हो ।

‘एमसिसी सम्झौता जबरजस्ती लाधिँदै छ, हामीले प्रतिबन्धको समयमा पनि यसको विरोध गरेका थियौँ । एमसिसी राष्ट्रिय स्वाधीनताको विरुद्धमा छ । कुनै पनि हालतमा एमसिसी लागू गर्न दिँदैनौँ,’ विप्लवले भन्नुभयो ।

आफूहरू अहिलेको संविधानमा सहमति नभए पनि एमसिसी बुर्जुवा संविधानभन्दा माथि हुन्छ भन्नु आपत्तिपूर्ण रहेको बताउनुभयो । ‘एमसिसीविरुद्ध काठमाडौंमा उत्रिएको विरोध झिल्को हो । एमसिसीलाई जबरजस्ती नेपालीको टाउकोमा थोपर्न खोजियो भने यो झिल्को राँको बन्छ, राँको,’ विप्लवले भन्नुभयो ।

विप्लवले एमसिसीविरुद्ध सबै पार्टीका इमान्दार कार्यकर्ता एकजुट हुनुपर्ने बताउनुभयो । ‘अमेरिकाले दिएको ५० करोड डलरले नेपालमा कायापलट हुन्छ ? एमसिसीबारे हामीले नबुझेको होइन, जनताले नबुझेको होइन मात्र डलरले आँखा बन्द भएको हो,’ विप्लवले भन्नुभयो, ‘आजैको दिनबाट साम्राज्यवादीको घेराबन्दीविरुद्ध लड्नुपर्छ । तपाईं देश रोज्नु हुन्छ कि अमेरिका ? स्वाभिमान रोज्नुहुन्छ कि पैसा ?’

विरोधसभालाई सिपी गजुरेल, ऋषि कट्टेल, सिपी मैनाली लगायतले सम्बोधन गर्दै एमसिसी खारेज नभएसम्म आन्दोलन गर्नुपर्ने बताउनुभएको थियो ।