स्वदेशमै यति धेरै स्कोप छ, विदेश जान्न : रविना श्रेष्ठ हस्तकला डिजाइन विजेता।

तपाईंलाई हस्तकलाबारे जानकारी थियो ?

म नेवारी कल्चरमै हुर्किएकाले केही न केही जानकारी थियो । घरमा पनि ममीहरूले सुकुल बुन्नुहुन्थ्यो । तर, पछि हराउँदै गयो।

हस्तकला मेलाहरूमा पनि जाने गर्नुहुन्थ्यो ?

ललितपुरको मंगलबजारतिर मूर्तिकला प्रदर्शनी हुन्थ्यो, स्कुलहरूमा पनि हुने गथ्र्यो । मैले पढ्ने मेरिवार्ड स्कुलले पनि हृयान्डवर्क एक्जिबिसन गथ्र्यो ।

इन्टेरियर डिजाइन भनेको के हो ?

धेरैले डेकोरेटर भनेर बुझ्ने गरेका छन् तर हामी इन्जिनियर, आर्किटेक्चरकै रूपमा काम गर्छौं । इन्जिनियरको कार्यक्षेत्र ठूलो हुन्छ भने हाम्रो सानो । तथापि हामी पनि पूरा विल्डिङ नलेज लिएर काम गर्छौं, डेकोरेटरमा यस्तो नलेज हुँदैन ।

इन्टेरियर डिजाइनमा के पर्छ ?

घरको फिनिसिङका लागि गरिने सबै काम पर्छ । रंग लगाउने, पानी, विद्युत्, प्लास्टर, फर्निचर सजावट सबै पर्छ । इन्टेरियर डिजाइनरलाई जिम्मा दिएपछि घरधनीले पानी, विद्युत्, प्लास्टर, फर्निचर, रंग लगाउने छुट्टाछुट्टै व्यक्ति खोजेर हिँडिरहनुपर्दैन । तर, अहिले इन्टेरियरको काम गैरइन्टेरियर डिजाइनरले पनि गरिरहेको अवस्था छ ।

तपाईं इन्टेरियर डिजाइनरतिरै लाग्नुको कारण ?

बच्चैदेखि इन्जिनियर बन्ने सोच थियो । नेपालमा इन्टेरियर पनि छ भन्ने जानकारी थिएन । तर, ड्याडीमम्मीको चाहिँ डाक्टर पढाउने इच्छा थियो । साइन्स पढ, साइन्स पढ, साइन्स पढ भनिरहनुहुन्थ्यो । साइन्स पनि मज्जाले फोकस गरेर प्लस टुसम्म पढियो । दुई–तीन वर्ष त्यसैमा गयो । आफैँले खर्च गरेर डाक्टरी पढ्न सक्ने अवस्था नभएकाले छात्रवृत्तिमै पढ्ने भनेर लागियो तर सफल भइएन । इन्जिनियरिङतिर जाने पनि आँट आएन । अरू विकल्प खोज्दै जाँदा इन्टेरियर पनि छ भन्ने थाहा भयो । अनि यतातिर लागेको हुँ ।

इन्टेरियर डिजाइनरलाई काम अभाव हुँदैन ?

हुँदैन, हुँदैन, आफैं पनि स्वरोजगार बन्न सक्ने भएकाले कामको समस्या हुँदैन । तुलनात्मकरूपमा न्यू कमर डिजाइनर सिर्जनात्मक हुन्छन् ।

इन्जिनियर, डाक्टरभन्दा इन्टेरियर डिजाइनर बन्न सहज भएर हो ?

त्यो पनि हो, तुलनात्मकरूपमा पढाइ खर्च पनि कम लाग्ने भयो, समय कम र मिहिनेत पनि बढी परेन ।

प्रतियोगिता हुँदैछ भन्ने कसरी थाहा पाउनुभयो ?

हस्तकला महासंघले प्रतियोगिता आयोजना गर्दैछ भन्ने कलेजलाई जानकारी गराइएको रहेछ ।

अब यसैमा लाग्ने कि बाहिर जाने ?

यसैमा यहीँ केही गर्ने हो । यहीँ स्कोप छ भने किन विदेश जाने ¤ फेरि इन्टेरियर डिजाइन मेरो रुचिको क्षेत्र पनि हो । नेपालमा धेरै प्रोजेक्ट बनिरहेका हुन्छन् तर हामीलाई थाहा हुँदैन । त्यस्ता प्रोजेक्टले विदेशी इन्टेरियर डिजाइनरलाई काम दिने गरेका छन्, जुन हामी पनि गर्न सक्छौं ।

वास्तुकला र इन्टेरियर डिजाइनमा के फरक छ ?

इन्टेरियर डिजाइन पनि वास्तुअनुसार गर्न सकिए अझै राम्रो हुन्छ । सम्भव भएसम्म इन्टेरियर डिजाइन र वास्तुकलाको फ्युजन गरेर काम गर्न सकेमा सुनमा सुगन्ध हुन्छ ।