काठमाडौं:= कार्यतालिकाबमोजिम सबै जिल्लाको वडा अधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसले नयाँ कार्यतालिका ल्याएको छ । २० जिल्लाको क्रियाशील सदस्यता विवादका कारण कार्यतालिकाअनुसार वडा अधिवेशन हुन नसकेपछि कांग्रेसले निर्वाचन कार्यतालिका परिवर्तन गरेको हो ।
भदौ २७ गते गाउँ÷नगर अधिवेशन गर्ने कार्यतालिका प्रभावित हुने भएपछि नयाँ कार्यतालिका ल्याइएको छ । केन्द्रीय निर्वाचन समितिले शुक्रबार पालिकासहित जिल्ला तहसम्मको अधिवेशनको कार्यतालिकामै हेरफेर गरेको हो । कांग्रेस पदाधिकारी बैठकले गाउँ-नगरपालिका अधिवेशनदेखि जिल्ला अधिवेशनको नयाँ मिति प्रस्ताव गरेको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले विज्ञप्ति जारी गर्दै कार्यतालिकामा हेरफेर गरिएको जानकारी दिनुभएको छ ।
उहाँका अनुसार अब क्रियाशील सदस्यताको विवाद मिल्न बाँकी जिल्लामा सदस्यताको विवाद समाधान गरी ५ असोजमा वडा अधिवेशन हुनेछ । गाउँ-नगरपालिका, प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशनको मिति हेरफेर गरेको हो ।
नयाँ कार्यतालिकाअनुसार पालिका अधिवेशन देशभर सबै पालिकामा एकैपटक असोज ९ गते हुने भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रमा १२ गते हुने भएको छ भने १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा हुनेछ । एक निर्वाचन क्षेत्र भएका जिल्लामा १५ गते नै जिल्ला अधिवेशन सम्पन्न हुनेछ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा भने १८ गते जिल्ला अधिवेशन हुने कार्यतालिकामा उल्लेख छ । निर्वाचन समितिका संयोजक महादेव यादवका अनुसार प्रदेश महाधिवेशन र केन्द्रीय महाधिवेशन भने यथावत राखिएको छ । आगामी कात्तिक १०-१२ मा क्षेत्रीय अधिवेशन र मंसिर ९-१३ मा केन्द्रीय महाधिवेशन गर्न कांग्रेसको तालिका छ ।
सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कार्यतालिका फेरबदल गर्ने विषयमा शुक्रबार बिहान सहमति भएको थियो । देउवा र पौडेलबीच बिहीबार पनि बालुवाटारमा भेटवार्ता भएको थियो । त्यसक्रममा पौडेलले वडा अधिवेशन सम्पन्न भएपछि ७५३ वटै पालिकाको अधिवेशन एकैदिन गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । शुक्रबार बिहान पुनः नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहसहित नेताहरूले देउवालाई भेटेर ध्यानाकर्षण गराउनुभएको थियो ।
क्रियाशील विवादका कारण २० जिल्लामा वडा तहकै अधिवेशन सम्पन्न हुन सकेको छैन । कहिले हुने समेत टुंगो छैन । २० जिल्लाको क्रियाशील सदस्यता सूचीसमेत सार्वजनिक भएको छैन । डडेल्धुरामा विवादकैबीच जारी वडा अधिवेशन संस्थापनइतर पक्षले बहिष्कार गरेको छ । वडा तहको अधिवेशन भदौ १८ देखि २३ सम्म सक्नुपर्ने तालिका थियो । सो अवधिमा ५६ जिल्लाको वडा अधिवेशन भने सम्पन्न भएको छ ।
प्रशासनिक शक्तिको दुरुपयोग : पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई आन्तरिक निर्वाचनमा शक्तिको दुरुपयोग गरेको आरोप लगाउनुभएको छ । सभापति देउवाको जिल्ला डडेल्धुरामा जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिताबेगर प्रशासनिक शक्तिको दुरुपयोग गरी वडा अधिवेशन गराउनु लोकतन्त्रकै उपहास भएको नेता पौडेलको भनाइ छ ।
‘पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र, तर व्यवहार अलोकतान्त्रिक !’ पौडेलले भन्नुभएको छ, ‘नेपाली कांग्रेसको इतिहासमै आन्तरिक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक छ । महाधिवेशनको लागि यो शुभ संकेत होइन । यसअघि उहाँले शुक्रबार बिहानै डडेल्धुराको जिल्ला अधिवेशन रोक्न माग गर्नुभएको थियो । देउवालाई भेटेर पार्टीको महाधिवेशनमा प्रहरी प्रशासनको दुरुपयोग नगर्न ध्यानाकर्षण गराएको थियो ।




















