काठमाडौं:= नेपाल वायुसेवा निगमले भारतको नयाँदिल्ली दैनिक एक उडान सञ्चालन गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सेप्टेम्बरका लागि सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिकाअनुसार अब काठमाडौं-नयाँदिल्ली गन्तव्यमा सातामा १० उडान हुने भएका छन् ।
नेपाल एयरलाइन्सले दैनिक एक उडान गर्नेछ भने भारतको राष्ट्रिय ध्वजावाहक एयर इन्डियाले साताका तीन दिन अर्थात् आइतबार, मंगलबार र शुक्रबार उडान गर्नेछ । एयर बबल सम्झौताअनुसार यसअघि नयाँदिल्ली गन्तव्यमा सातामा तीन उडान हुँदै आएका थिए । बन्दाबन्दीपछि सुरुमा सातामा एक र दुई उडान गर्दै आएकामा अहिले एयर बबलअनुरूप नै दैनिक उडान तालिका बनाइएको हो ।
नेपाल एयरलाइन्सले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ । निगमका अनुसार नयाँदिल्ली गन्तव्यमा दैनिक उडानले दसैंको अवसरमा यात्रुलाई निकै राहत पुग्ने र यसले निगमको व्यापारमा पनि सकारात्मक प्रभाव पार्नेछ । हवाईमार्ग भएर दिल्लीबाट धेरै नेपाली तथा भारतीय आउने भएकाले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । नेपालमा पर्यटकीय सिजन सुरु भएको छ । यो याममा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्यमात्रामा विदेशी नेपाल आउँछन् ।
एयर अरेबियाले हरेक दिन काठमाडौं गन्तव्यमा दुई उडान गर्ने गरी अनुमति पाएको छ । सोही एयरलाइन्सको जहाजले आबुधाबीबाट समेत हरेक दिन उडानको अनुमति पाएको क्यानले जनाएको छ । यस्तै फ्लाई दुबईले काठमाडौंका लागि सातामा १० उडान गर्नेछ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले मलेसियाको क्वालालम्पुर विमानस्थलमा साताको छ उडान सञ्चालन गर्नेछ । सोही एयरलाइन्सले दुबईका लागि साताको छ उडान सञ्चालनको अनुमति पाएको छ ।
त्यसैगरी कतारका लागि हिमालयको जहाजले सातामा कुल सात उडानको अनुमति पाएको छ ।जजिरा एयरवेजले काठमाडौंका लागि हरेक दिन उडान गर्नेछ । कोरियन एयरले साताको एक दिन काठमाडौं उडान गर्नेछ । मालिन्दो एयरको जहाजले क्वालालम्पुरबाट सातामा चार उडान गर्नेछ । मलेसिया एयरलाइन्सले हरेक शनिबार काठमाडौं उडान गर्नेछ । नेपाल एयरलाइन्सले कतारको हमाद इन्टरनेसनलमा हरेक दिन एक उडान गर्नेछ ।




















