राष्ट्रिय फुटबल टोली प्रशिक्षण गर्न कतार प्रस्थान।

काठमाडौं:= आगामी साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली कतार प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षणका लागि कतार प्रस्थान गर्ने नेपाली टोलीलाई बिदाइ गरेको हो । नेपालले कतारमा १६ दिन प्रशिक्षण गर्नेछ ।

साफ १ देखि १६ अक्टोबरसम्म माल्दिभ्सको राजधानी मालेमा हुनेछ । साफमा नेपालसहित बंगलादेश, माल्दिभ्स, भारत र श्रीलंकाको सहभागिता जनाउनेछन् । कोरोनाका कारण भुटानले नाम फिर्ता लिएको छ भने फिफा प्रतिबन्धका कारण पाकिस्तानले सहभागीता जनाउन पाउने छैन ।

नेपालले गत १७ र २० भदौमा साफ च्याम्पिनसिप तयारी लागि भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंशगशालामा भएको पहिलो मैत्रीपूर्ण खेल १-१ को बराबरीमा समाप्त भएको थियो । दोस्रो खेल भारतले २-१ गोल अन्तरले आफ्नो पक्षमा पारेको थियो ।

एन्फाले कतार भ्रमण तयसँगै मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी २१ भदौमै कतार प्रस्थान गर्नुभएको थियो । कतार भ्रमणमा टोलीका डिफेन्डर रोहित चन्द उपलब्ध हुने छैनन् । उहाँ इण्डोनेसियाको लिग वान खेल्न व्यस्त हुनुहुन्छ । उहाँ साफ अगाडि टोलीमा जोडिनुहुनेछ । अन्य खेलाडी भने भारतविरुद्ध मैत्रीपूर्ण खेलेका खेलाडी नै हुनेछन् । कतार भ्रमणबाट नेपाली टोली २७ सेप्टेम्बरमा माल्दिभ्स पुग्नेछ ।

२५ सदस्यीय नेपाली टोलीमा किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज ज्यू ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अञ्जन विष्ट, आयुष घलान र नवयुग श्रेष्ठ र आशिष लामा हुनुहुन्छ ।

साफ अक्टोबर १ देखि १६ सम्म माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा हुनेछ । नेपालले आयोजक माल्दिभ्ससँग असोज १५ गते, दोस्रो खेल श्रीलंकासँग असोज १८ गते, तेस्रो खेल भारतसँग असोज २४ गते तथा लिग चरणको अन्तिम खेल बंगलादेशसँग असोज २७ गते खेल्ने तालिका रहेको एन्फाले जनाएको छ ।

नेपाल, भारत, श्रीलंका, बंगलादेश र माल्दिभ्स सम्मिलित उक्त प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोली उपाधिका लागि असोज ३० गते भिड्नेछन् । भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जानेछ । नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ ।