कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको भिडन्त पक्का।

काठमाडौं:= नेपाली कांग्रेसको आगामी १४औं महाधिवेशनमा युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा भिड्ने हुनुभएको छ । बिहीबार कांग्रेस प्रवक्ता शर्माले उम्मेदवारी घोषणा गरेसँगै महाधिवेशनमा नेताद्वयबीच चुनावी भिडन्त हुने पक्का भएको हो ।

बिहीबार बिपी स्मृति दिवसको अवसरमा काठमाडौंको सुन्दरीजलस्थित बिपी संग्रहालय पुगेर शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभयो । बिपीको संकल्प र युवाहरूको भावनालाई समेट्न आफूले भूमिका खेल्ने उहाँले बताउनुभयो । यसअघि थापाले पनि महामन्त्री उठ्ने घोषणा गरिसक्नुभएको छ । थापाले १० दिनअघि गत सोमबार काठमाडौं महानगरपालिका-२० को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो ।

थापा १३औं महाधिवेशनमा पनि महामन्त्रीमा भिड्नुभएको थियो । तर, पराजित हुनुभयो । यसअघि कृष्णप्रसाद सिटौला प्यानलबाट उम्मेदवारी दिनुभएका थापा यसपटक संस्थापनइतर रामचन्द्र पौडेल समूहमा देखिनुभएको थियो । धेरैले उहाँलाई पौडल समूहमा गएको भने पनि थापाले एक कार्यक्रममा आफू कृष्णप्रसाद सिटौला पक्षमा नै रहेको बताउनुभएको थियो । शर्मा भने संस्थापन पक्षबाट हुनुहुन्छ । यद्यपि, प्यानलको आधिकारिक घोषणा भने मनोनयन दर्तामा खुल्नेछ । कांग्रेस वृत्तमा महामन्त्रीका लागि युवा नेता प्रदीप पौडेलले पनि उम्मेदवारी दिने चर्चा छ । तर, उहाँले घोषणा गर्नुभएको छैन ।

कांग्रेसलाई लगातार तीन निर्वाचनमा जिताउन महामन्त्रीमा उम्मेदवारी : शर्मा 

महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै प्रवक्ता शर्माले कांग्रेसले लगातार तीनवटा निर्वाचन जितेर १५ वर्षमा देश बनाउने विपी कोइरालाको परिकल्पनालाई सम्बोधन गर्न उम्मेदवारी दिने योजना बनाएको बताउनुभयो । प्रवक्ता शर्माले एउटा निर्वाचन जित्ने र अर्को हार्ने निरन्तरको शृंखला कांग्रेसको रहेको स्मरण गर्दै यसले देश नबन्ने बताउनुभयो । आफूले पार्टीलाई महामन्त्रीको जिम्मेवारीमा रहेर हाँक्न चाहेको पनि बताउनुभयो। ‘नेपाली कांग्रेसले दोहो¥याएर चुनाव जितेको छैन, किन ? २०४८ सालमा जित्यो, २०५१ सालमा हा¥यो ।

२०५६ मा फेरि जित्यो । २०६४मा जित जोगाउन सकेन,’ उहाँले भन्नुभयो, ‘२०७० मा जितेको कांग्रेस २०७४ मा जित्न सकेन । कांग्रेसले एउटा निर्वाचन जित्ने र अर्को हार्ने हो भने बिपीले १५ वर्षमा देश बनाउँछु भनेर लगातार तीनवटा निर्वाचन जित्न गरेको परिकल्पना र त्यो ‘स्पिरिट’लाई सम्बोधन गर्न सकिन्न । देश निर्माण गर्न सकिन्न । देश अस्थिरताको जञ्जालमा पर्छ ।’

उहाँले लगातार तीनवटा निर्वाचन जित्ने पार्टी बनाउन आफूले उम्मेदवारी घोषणा गरेको बताउनुभयो । सबैको साथ, सहयोग र समर्थनमा आफूले उम्मेदवारी दिएको दाबी गर्नुभयो । ‘आज म उद्घोष र संकल्प गर्न चाहन्छु, कांग्रेसको आगामी महाधिवेशनबाट महामन्त्रीको जिम्मेवारीमा गएर यस्तो सपनाका साथ नेपाली कांग्रेसलाई ‘ड्राइभ’ गर्नुपर्छ भन्ने घोषणा गर्न चाहन्छु,’ उहाँले भन्नुभयो, ‘ता कि नेपाली कांग्रेसले तीनवटा निर्वाचन लगातार जितेर देशलाई एउटा बाटो दिनुपर्छ ।’

प्रवक्ता शर्माले मुलुकलाई निर्माण गर्ने गरी साझा दृष्टिकोणका साथ अघि बढ्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभयो । कम्युनिष्टहरूलाई गाली गरेर होइन, नेपाली जनतामा विद्यमान रोग र भोकको समस्या समाधान गरेर कांग्रेस अघि बढनुपर्नेमा उहाँको जोड छ ।

डडेल्धुराको वडा अधिवेशन सार्न देउवाको निर्देशन

समिति भन्छ- भ्रममा नपरी अधिवेशनमा सहभागी हुनुहोस्

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा वडा अधिवेशन सार्न निर्देशन दिइसकेको बताउनुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलसँग बिहीबार भएको छलफलका क्रममा उहाँले गृहजिल्लामा भदौ २५ का लागि तय गरिएको वडा अधिवेशन सार्न निर्देशन दिएको बताउनुभएको छलफलमा सहभागी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले डडेल्धुरामा देखिएको क्रियाशील सदस्यता विवाद समाधानका लागि अधिवेशन केही दिनका लागि पछाडि धकेल्न भनिसकेको जानकारी आफूहरूलाई दिइएको उहाँको भनाइ छ । ‘सभापतिज्यूले वडा अविधेशन स्थगत गर्न निर्देशन दिइसकेको छु भन्नुभएको छ, उहाँले सहमति गरेर मात्रै अधिवेशन प्रक्रिया अगाडि बढाउन भनिसकेको हामीलाई जानकारी गराउनुभयो,’ केसीले भन्नुभयो ।

छलफलमा पौडेल समूहले विवाद विधि र प्रक्रियाअनुरूप टुंग्याउन आग्रह गरेको थियो । पौडेल समूहले क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी रहेका २० जिल्लाको नामावली सार्वजनिक गरेर महाधिवेशन सुनिश्चित गन पनि आग्रह गर्नुभएको उहाँको भनाइ छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा वरिष्ठ नेता पौडेल, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडू, डा. मीनेन्द्र रिजाललगायत सहभागी हुनुहुन्थ्यो ।

डलेल्धुराको क्रियाशील सदस्यता सूची सार्वजनिक भएपछि विवाद उत्पन्न भएको हो । संस्थापन पक्षको दबाबमा निर्वाचन समितिले शुक्रबार वडा अधिवेशन गर्ने मिति तय गरे पनि संस्थापनइतर समूहले विवाद नमिलेसम्म अधिवेशन नहुने भन्दै विज्ञप्ति नै जारी गरेको थियो ।

यसैबीच, बिहीबार साँझ निर्वाचन समितिले एक विज्ञप्ति जारी गर्दै शुक्रबारका लागि तोकिएको अधिवेशन तोकिएकै समयमा हुने भन्दै भ्रममा नपर्न अपिल गरेको छ । निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमद्वारा जारी प्रेस विज्ञप्तिमा वडा अधिवेशन नरोकिने उल्लेख गरिएको हो ।

‘नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रत्यायोजन गरेको अधिकार बमोजिम नेपाली कांग्रेस डडेल्धुराको वडा अधिवेशन यही मिति २०७८ भदौ २५ गते र बाँकी तहका निर्वाचन केन्द्रले तोकेबमोजिम कै मितिमा हुने र सो प्रयोजनका लागि नेपाल शिक्षक संघको सहयोगमा मतदान अधिकृत तोकी सम्बन्धित वडामा निर्वाचन सामग्रीसमेत पठाइसकेकाले कुनै किसिमको भ्रममा नपरी अधिवेशनमा सक्रिय सहभागिता जनाउन अपिल गर्दछु्,’ मल्लद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुने तय गरिएको छ । अहिले क्रियाशील सदस्यता विवाद समाधान भएका ५६ जिल्लामा वडाअधिवेशन सकिने क्रममा छ भने २० जिल्लाको क्रियाशील सदस्यता सूची नै सार्वजनिक भएको छैन । सभापति देउवाको गृहजिल्लामा सदस्यता सूची सार्वजनिक भए पनि विवादका कारण वडा अधिवेशन हुन सकेको छैन ।