लन्डन:= जर्मनीले विश्वकपको युरोपेली छनोट खेलमा लगातार तेस्रो जित निकालेको छ । बुधबार रातिको खेलमा जर्मनीले आइसल्यान्डलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।
प्रशिक्षक हृयान्सी फ्लिकको नेतृत्वमा लगातार तेस्रो जित निकाल्नेक्रममा सर्जी जिनाब्री, एन्टोनियो रुडिगर, लोरेय साने र टिमो वेर्नेरले १÷१ गोल गर्नुभयो । खेलको चौथो मिनेटमा नै सर्ज गिनाब्रीको गोलबाट अग्रता लिएको थियो । उहाँले लिरोए सानेको पासमा गोल गर्नुभएको थियो ।
यस्तै २४औं मिनेटमा योसुवा किम्मिखको पासमा एन्टोनियो रुडिगरले गोल गर्दै जर्मनीलाई पहिलो हाफमा २-० को अग्रता दिलाउनुभयो । जर्मनीले दोस्रो हाफमा पनि दुई गोल थप्न सफल भयो । ५६औं मिनेटमा लिरोए सानेले लियोन गोरेट्जकाको पासमा गोल गर्दै जर्मनीलाई सहज जिततर्फ अघि बढाउनुभयो ।
६४औं मिनेटमा लियोन गोरेट्जकाले गोल गरे पनि भीएआरबाट अफसाइड ठहरियो । ८९औं मिनेटमा इंग्लिस क्लब चेल्सीका सहयात्री काई हाभर्टजको पासमा टिमो वेर्नरले गोल गर्दै जर्मनीलाई ४–० को सहज जित दिलाउनुभयो । युरोकपमा इंग्ल्यान्डसँग पराजित भएयता तीन खेलमा फ्लिकको टोली अपराजित छ । बुधबार रातिको समूह ‘जे’ को अर्को खेलमा नर्थ मेसेडोनिया र रोमानियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
समूह ‘जे’ मा ६ खेलको समाप्तिमा १५ अंकका साथ जर्मनी शीर्षस्थानमा रहँदा अर्मेनिया ११ अंकका साथ दोस्रो तथा १० अंक जोडेको रोमानिया तेस्रो स्थानमा छ । नर्थ मेसेडोनिया नौ अंकका साथ चौथो स्थानमा रहँदा आइसल्यान्ड चार अंकका साथ पाँचौं तथा लिचेस्टिन एक अंकका साथ पुछारमा छन् ।



















