काठमाडौं:= राष्ट्रिय जनगणना आउँदो कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने भएको छ । बुधबार राजधानीमा केन्द्रीय तथ्यांक विभागले अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै कोरोना महामारीका कारण स्थगित गरिएको राष्ट्रिय जनगणना उक्त समयमा हुने भएको बताएको हो ।
अहिले कोरोनाको दर घटिरहेको, लकडाउनको अवस्था नरहेको र जनजीवन सामान्य रूपले चलिरहेको अवस्थालाई मध्यनजर गर्दै सरकारले राष्ट्रिय जनगणना पुनः सञ्चालन गर्ने निर्णय गरेको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताउनुभयो । महानिर्देशक श्रेष्ठका अनुसार आगामी जनगणना १२आँै शृंखलाको हुनेछ भने जनगणनामा ३९ हजार गणक, आठ हजार सुपरिवेक्षकले ७० लाख परिवार तथा तीन करोड जनसंख्याको गणना १५ दिनमा गर्नेछन् । जनगणना गर्ने कार्य जटिल भएको र यस जनगणनामा हरेकको घरदैलोमा पुगेर सम्पूर्ण घर, सम्पूर्ण परिवार र सम्पूर्ण व्यक्तिको गणना गरिने उहाँले बताउनुभयो ।
महानिर्देशक श्रेष्ठले भन्नुभयो, ‘विगत तीन महिनायता अवस्था सहज छ, लकडाउनको अवस्था पनि छैन, कोरोना संक्रमणको दर पनि न्यून भइरहेको छ, अब जनगणना गर्न सक्ने अवस्था भएकाले जनगणना गर्न लागेका हौँ, यो अत्यन्त जटिल काम पनि हो, एउटा निश्चित विधि, अवधारणा, परिभाषालाई अंगीकार गरीकन निश्चित समयमा मुलुकका सम्पूर्ण घर, परिवार र व्यक्तिहरूको गणना गर्नुपर्छ र हरेक व्यक्तिको घरदैलोमा पुग्नुपर्छ, त्यसकारण यो च्यालेन्जिङ छ, हालसम्म सातवटै प्रदेशमा सातवटा प्रदेश जनगणना कार्यालय, ७७ जिल्लामा ८० वटा जिल्ला जनगणना कार्यालय रहेको र ७५३ स्थानीय तहका लागि ३४९ वटा स्थानीय जनगणना कार्यालय स्थापना गर्न लागेका छौँ, आगामी जनगणना १२आँै शृंखलाको हुनेछ भने जनगणनामा ३९ हजार गणक, आठ हजार सुपरिवेक्षकले ७० लाख परिवार तथा तीन करोड जनसंख्याको गणना १५ दिनमा गर्नेछन् ।’
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले जतिसक्दो छिटो गणकको छनोट गर्नुपर्ने बताउनुभयो । गणकको छनोट गरे उनीहरूलाई दुई डोज नै कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सकिने भन्दै उहाँले गणकले गणना गर्न जाँदा मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्ने पनि बताउनुभयो । सचिव भण्डारीले पूर्व–निर्धारित समयमा जनगणना हुन नसक्दा खर्च पनि बढिरहेको बताउनुभयो ।
केन्द्रीय तथ्यांक विभागबाट तयार पारिएको नयाँ कार्यतालिका भाद्र २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो । पूर्व–निर्धारित कार्यक्रमअनुसार जनगणना २०७८ जेठ २५ देखि असार ८ गतेसम्म सम्पन्न गर्ने सरकारको योजना थियो । वि.सं. १९६८ मा श्री ३ चन्द्रशमशेर जबराको पालाबाट सुरु गरिएको राष्ट्रिय जनगणना प्रत्येक १०÷१० वर्षमा गरिन्छ । यो जनगणना मुलुक संघीयतामा प्रवेश गरेपछिको पहिलो जनगणनासमेत हो ।




















