हिन्दू नेपाली महिलाहरूले आज हरितालिका तीज मनाउँदै।

काठमाडौं:= विशेष गरि पहाडका हिन्दू नेपाली महिलाहरूले आज महत्वपूर्ण चाड तीज मनाउँदै छन् । यो पर्वमा भदौ महिनाको शुक्ल पक्षको प्रतिपदाका दिन आफ्ना चेलीबेटीहरूलाई बोलाई द्वितीयाको दिन आफ्नो सामथ्र्यअनुसार मिठा-मिठा खाद्यवस्तुहरू तयार गरिन्छ र प्रेमपूर्वक उनीहरूलाई खुवाइन्छ । भाद्र महिनाको शुक्लपक्षको तृतीयाको दिन तीज हो । प्रतिपदाबाट पञ्चमीसम्मका दिनलाई समन्वितरूपमा तिज भने पनि खास तीज चाँहि यसै दिनलाई मानिन्छ । यो दिन महिलाहरू निराहर व्रत बस्छन् ।

भगवान् शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो । साउने संक्रान्तिदेखि तीजको रौनक सुरु हुने गर्दछ । तीजमा खासगरी भगवान् शिवको आराधना गरिन्छ । यसको अर्को पक्ष नाचगान र मनोरञ्जन हो । नेपालका प्रायः सबै समुदायका महिलाहरूले मनाउने साझा पर्वका रूपमा विकास भइरहेको पर्व हो तीज ।

प्रचलित जनविश्वासअनुसार हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई आफ्नो पति पाऊँ भनी पहिलो पटक व्रत बस्नुभएको थियो । सोही मान्यताअनुसार पति नभएकाले राम्रो पति र विवाहितले पतिको दीर्घायुको कामना गर्दै व्रत बस्ने प्रचलन रही आएको छ । यस दिन बिहान सबेरै उठी नुहाइधुवाइ गरेर दिनभर व्रत बस्ने र साँझ पूजाका सामान तथा मण्डप तयार गरी भगवान् शिवको पूजा आराधना गर्ने प्रचलन छ ।

तीजको दिन बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरलगायत देशभरमा शिवालयहरूमा विगतका वर्षमा महिला व्रतालुको ठूलो भिड लाग्ने गरेको भए पनि यो वर्ष भने कोरोना संक्रमणका कारण मन्दिर खुलेको छैन । गतवर्ष पनि कोरोना संक्रमणका कारण मन्दिर बन्द गरिएको थियो । नेपाली महिलाहरूको महान् पर्व तीजको अवसरमा सम्पूर्ण महिला दिदी बहिनीमा हिमालय टाइम्स परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना ।