हेटौँडा:= बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार सात मन्त्री र चार राज्यमन्त्री थपेर मन्त्रिमण्डल विस्तार गर्नुभएको हो ।मन्त्रिपरिषद् विस्तारसँगै नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन् । उनीहरूले प्रदेश प्रमुखको कार्यालय हेटौँडामा प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शपथ लिनेमा आर्थिक मामिला तथा योजनामन्त्री रचना खड्का, आन्तरिक मामिला तथा कानुनमन्त्री डा.अजय क्रान्ति शाक्य, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री शान्तिप्रसाद पौडेल, सामाजिक विकासमन्त्री विजय सुवेदी, स्वास्थ्यमन्त्री प्रदीप कटुवाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामा रहनुभएको छ ।
त्यसैगरी, पूर्वाधार विकास राज्यमन्त्री जीवन खड्का, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सरस्वती बाटी, सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनाली रहनुभएको छ । यससँगै प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ । शपथ कार्यक्रममा पत्रकारहरूलाई प्रवेश दिइएको थिएन । प्रवेश नदिएपछि पत्रकारले बाहिर बसेर विरोध गरेका थिए ।
नेकपा एमाले औपचारिकरूपमा विभाजनपश्चात् गठन भएको नेकपा (एकीकृत समाजवादी) मा आफ्नो पार्टीका १३ सांसद आबद्ध भएसँगै शाक्य नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । मुख्यमन्त्रीको शपथ लिएसँगै शाक्यले दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । तर, उहाँले नियुक्त गर्नुभएका सामाजिक विकासमन्त्री कृष्ण खनालले नेकपा (एस) रोज्दै पदबाट राजीनामा दिनुभएको थियो । एमालेका ५६ सांसदमध्ये १३ जना एकीकृत समाजवादीमा लागेपछि शाक्य अल्पमतमा हुनुहुन्छ ।
शाक्यले बुधबार नियुक्त गरेको १० जनामा तीन जना एमाले विभाजनअघि माधवकुमार नेपाल समूहमा लागेका सांसद छन् भने बाँकी सात जना अध्यक्ष केपी ओली समूहका छन् । पार्टी विभाजन अघि नेपाल समूहमा रहनुभएकी शाक्यले पार्टी एकताको पक्षमा रहेको भन्दै धार परिवर्तन गरेर मुख्यमन्त्री बन्नुभएको थियो । डोरमणि पौडेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बन्नुभएको थियो । यसअघि साढे ३ वर्षसम्म बागमती प्रदेश सरकारमा सातजना मात्रै मन्त्री रहेका थिए ।




















