पोखरा:= नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी ०७५ जेठ २ को अवस्थामा जस्ताको तस्तै नफर्किने बताउनुभएको छ । एमाले कास्कीद्वारा मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले १० बुँदे पनि समस्या खडा गर्न नभई समस्या समाधान गर्नका लागि गरिएको बताउनुभयो ।
‘नेकपाको दर्ता बदर भएपछि नेकपा (एमाले) र माओवादी सर्लक्क अलग भएको होइन, त्यो कानुनी कुरा हो । हामीले पार्टी एकीकरण गरेका थियौँ २०७५ जेठ ३ गते । त्यो एकीकरण कायमै छ,’ उहाँले भन्नुभयो, ‘प्रचण्ड गुट अलग भएर गयो, माओवादी केन्द्रबाट आउनुभएका थुप्रै साथीहरू अहिले पनि यसै पार्टीमा हुनुहुन्छ । यो पार्टीको अहिलेको नाम नेकपा (एमाले) हो । यो हिजोको नेकपाको पनि निरन्तरता हो, एकीकणको पनि निरन्तरता हो ।’
उहाँले कतिपय ठाउँमा बिनासित्ति जेठ २ को प्रसंग ल्याउने गरेको बताउँदै जेठ २ भनेको श्राद्धमा बिरालो बाँधेजस्तो नभएको उल्लेख गर्नुभयो । ‘यो त पार्टीलाई गतिशील बनाउन र समस्या देखापरे भने समस्या समाधान गर्न हो । यो कुनै पार्टीसँग गरिएको सम्झौता होइन,’ उहाँले थप्नुभयो, ‘हामीले माधव नेपाललाई पनि फुट्न नदिने भनेर बनाइएको कार्यदल थियो । त्यो क्षति रोक्न बनाइएको थियो । माधव नेपालले अस्वीकार गरे ।’
उहाँले १० बुँदेलाई उपयोग गर्दै पार्टीको समस्या समाधान गर्दै, भ्रम र अलमलमा परेकालाई पनि ल्याउँदै पार्टीलाई मजबुत बनाउने भएकोले यसलाई कुनै हाउगुजीका रूपमा नबुझ्न आग्रह गर्नुभयो । ओलीले आगामी चुनावमा जित्ने गरी सहजरूपमा अगाडि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिनुभयो । ‘सजिलोसँग कामलाई अगाडि बढाउनुहोस् । तनावग्रस्त नहुनुहोस् । भारी मनका साथ नचलल्नुहोस् । जुनसुकै कुराका लागि सहज तरिकाले चल्नुहोस्, उहाँको निर्देशन थियो ।
माधव नेपाललाई ‘प्युसो’ को संज्ञा
एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ‘प्युसो’ भएको टिप्पणी गर्नुभएको छ । ‘कांग्रेसले हामीसँग लड्ने आँट गरेको छैन । माधव नेपाल त प्युसो हुन् । उम्रन पाएको छैन एमालेसँग मुकाबिला गर्ने सपना देख्छन्’, ओलीले भन्नुभयो ।
साथै उहाँले बेसरम व्यक्तिको नेतृत्वमा एमाले फुटाउने अभियान चालेको आरोप लगाउनुभयो । उहाँले नेपाललाई एमाले लखेट्न लागेको आरोपसमेत लगाउनुभयो । माधव नेपाल बिग्रेको मात्र नभई पतन भएको ओलीको भनाइ थियो । उहाँले नेपाललाई पार्टीभित्र कुपुत्रको संज्ञा दिनुभयो । ‘कुपुत्र जन्मे कुलै समाप्त हुन्छ बल्लतल्ल कुल जोगाएँ,’ उहाँले भन्नुभयो । विरोधीलाई हँसाउने बाटो पार्टीभित्रबाटै सुरु भएको उहाँले बताउनुभयो । पार्टीभित्रको पदलोलुप प्रवृत्तिले देश ध्वस्त पार्न खोजेको उहाँको भनाइ थियो । ओलीले नाकाबन्दीको विरुद्ध विश्वले देख्ने गरी एमाले नेतृत्वको सरकार डटेर लडेको दाबी गर्नुभयो । ओलीले पछिल्ला सबैजसो सभाहरूमा माधवकुमार नेपालमाथि आक्रामक अभिव्यक्ति दिँदै आउनुभएको छ ।
‘अदालतले कांग्रेसको विघटन सदर र एमालेको बदर गर्छ’
अध्यक्ष केपी शर्मा ओलीले यो संसद्ले कामै गर्न नसक्ने अवस्था आएपछि आफूले विघटनको निर्णय लिएको बताउनुभयो । पूर्व–प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिदिएको निर्णयलाई आफूहरूले स्वीकारेको पनि बताउनुभयो । ओलीले अदालतले कांग्रेसले गरेका संसद् विघटनलाई सदर गर्ने तर एमालेको विघटनलाई बदर गर्ने चलन रहेको पनि बताउनुभयो । ‘अदालतले त जे फैसला गरे पनि हामीले मान्नुपर्छ, मानेका छौं’, उहाँले भन्नुभयोे, ‘कामै नगर्ने संसद् विघटन गर्दा अदालतले पुनःस्थापना गरिदिएको छ ।’
संविधानमा जस्तो लेखे पनि अदालतको आफ्नै नियम रहेको भन्दै उहाँले व्यंग्य गर्नुभयो । ‘कांग्रेसले विघटन ग¥यो भने अदालतले सदर गर्छ, एमालेले गरेको बदर गर्छ । यो थाहा भएकै कुरा हो’, उहाँले भन्नुभयो, ‘मनमोहन अधिकारीले गरेको बदर भयो । २०५२ सालमा मनमोहन हटाएर शेरबहादुर प्रधानमन्त्री बने ।’ सर्वोच्चको समेत जोडबलमा एमालेको सरकार ढालिएको उहाँले बताउनुभयो । ‘प्रधानमन्त्री तोक्न नहुने हो सर्वोच्च अदालतले, संसारमै यस्तो छैन’, उहाँले भन्नुभयो, ‘नेपालको सर्वोच्च अदालतले विचित्र गरेको छ ।’
पार्टीमै फर्किन नेपाललाई पाण्डेको आग्रह
नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी विभाजन गरेर माधवकुमार नेपालले गल्ती गरेको बताउनुभएको छ । मंगलबार पोखरामा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै पाण्डेले नेता नेपाललाई पार्टीमै फर्किन आग्रह गर्नुभयो । पार्टीमा फर्किए क्षमादान हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘यहाँहरूले गल्ती त गरिसक्नु भो । तर, फेरि पनि पार्टी हो पार्टीमा तपाईंहरू फर्किनुपर्छ । फर्किंदा पार्टीले क्षमादान गर्छ ।’ पार्टी विभाजन गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने काम भएको उहाँले टिप्पणी गर्नुभयो ।
‘माधव नेपालले यो जुन पार्टी विभाजनको अगुवाइ गर्नुभयो, यो बाटो नेपालको कम्युनिष्ट आन्दोलनको लागि नोक्सानको बाटो समाउनु भो । नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउनतिर उहाँहरू लाग्नुभयो । यो कदमबाट उहाँहरू पछाडि हट्नुहोस् ।’ पार्टी एकताका लागि भएको १० बुँदे सहमतिबाट पार्टी एकता आंशिकरूपमा जोगिएको उहाँको भनाइ छ । पार्टी विभाजनबाट एमालेलाई देशभर पाँचदेखि १० प्रतिशतसम्म मात्रै क्षति भएको उहाँले दाबी गर्नुभयो ।




















