कोरोनाका कारण महिला पत्रकार प्रविधिमैत्री।

काठमाडौं:= कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) ले कोरोनामा सूचना प्रविधि र सञ्चारकर्मीको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । महासंघको वुमेन इन आईसीटी र आईसीटी युथ इम्पावरमेन्ट समितिद्वारा आयोजित कार्यक्रम मैतीदेवीस्थित सन वे इन्टरनेसनल बिजनेस स्कुलमा भएको हो ।

पत्रकार महिलाका लागि आयोजित कार्यक्रममा वरिष्ठ महिला सञ्चारकर्मी एवं मिडिया एड्भोकेसी ग्रुपकी कार्यकारी निर्देशक बबिता बस्नेत र साउथ एसिया वुमेन इन मिडियाकी अध्यक्ष तथा सञ्चारिका समूहकी पूर्वअध्यक्ष निर्मला शर्माको सहभागिता रहेको थियो ।

क्यान महासंघका अध्यक्ष नवराज कुँवरले हरेक संकट र महामारीको सामनापछि मानिसले आफ्नो कार्यशैलीमा परिमार्जन गर्ने गरेको बताउनुभयो । कोरोनाले विश्वव्यापी महामारीको रूप लिएपछि नेपाली पत्रकारको समाचार सम्प्रेषण शैलीमा उल्लेखनीय परिवर्तन आएको पनि उहाँले बताउनुभयो।क्यान महासंघका महासचिव नारायण थापाले नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारमा क्यान महासंघले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।

वरिष्ठ सञ्चारकर्मी तथा मिडिया एड्भोकेसी ग्रुपकी कार्यकारी निर्देशक बबिता बस्नेतले महिला पत्रकारमा कोरोनाले ल्याएको असर, चुनौती र भूमिकाबारे चर्चा गर्दै प्रविधिमा महिला सहभागिता कम रहेकोमा कोरोनाका कारण सूचना प्रविधि प्रयोग र विस्तारमा भएको वृद्धिसँगै महिलाले पनि सूचना प्रविधिबाट लाभान्वित हुने अवसर पाएको बताउनुभयो ।

सञ्चारिका समूहकी पूर्वअध्यक्ष निर्मला शर्माले सूचना प्रविधिको विकाससँगै चुनौती पनि थपिएको बताउनुभयो । उहाँले सूचनाको स्रोतको स्तर र सही सूचना पाउने नागरिकको हकमा महामारीको समयमा वृद्धि भए पनि प्रविधिले विश्वसनीयता बढाउन भने नसकेको बताउनुभयो । कार्यक्रम प्रायोजक संस्था सन वे इन्टरनेसनल बिजनेस स्कुलका संयोजक मनिष महर्जनले इन्टरनेट अफ थिङ्स विषयमा प्रकाश पार्नुभएको क्यान महासंघका महासचिव नारायण थापाले जानकारी गराउनुभएको छ ।