कीर्तिपुरमा ‘मास्कबिना प्रवेश निषेध’ अभियान सुरु।

काठमाडौं:= कीर्तिपुर नगरपालिकामा ‘मास्कबिना प्रवेश निषेध’ अभियान सुरु गरिएको छ । कोरोना भाइरसबाट बच्नका लागि मास्क अनिवार्य लगाउनुपर्ने भएपछि कीर्तिपुर महानगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले सो अभियान सुरु गरेको हो ।

आइतबार बिहान कीर्तिपुरमा सो अभियानको शुभारम्भ गर्दै मेयर रमेश महर्जनले सबै नागरिकलाई कोरोनाको संकटबाट बचाउन अनिवार्य रूपमा मास्क लगाउन जनचेतना जगाउनका लागि सो अभियान सञ्चालनमा ल्याइएको स्पष्ट पार्नुभयो । कीर्तिपुर नगरपालिकाले मानिसहरूको भिडभाड हुने स्थलमा जाँदा हरेक नागरिकले अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने भएकाले सो अभियान सञ्चालनमा ल्याउनुपरेको पनि स्पष्ट पारेको छ । त्यसका लागि मास्क उपलब्ध गराउन ‘मास्क बैंक’को पनि स्थापना गरिएको छ ।

सक्नेले दिने र नसक्नेहरूलाई निःशुल्क रूपमा वितरण गर्न सो बैंकको स्थापना गरिएको पनि मेयर महर्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कीर्तिपुरको हकमा मास्कको सुनिश्चितता शुभारम्भ गरेका छौं । यसलाई निरन्तरता दिँदै हामीले यहाँका विभिन्न सार्वजनिकस्थलहरूमा, कार्यस्थलहरूमा ‘मास्कबिना प्रवेश निषेध’ भन्ने अभियानको प्रारम्भ गरेका छौं ।’

कार्यक्रममा बोल्दै उपमेयर सरस्वती खड्काले सो अभियानलाई साथ दिएर कोरोना संकटबाट बच्न सबै नागरिकहरूलाई अपिल गर्नुभयो । उहाँले भिडभाडमा जाँदा अनिवार्य रूपमा मास्क लगाउन भुल्न नहुने पनि स्पष्ट पार्नुभयो ।

कार्यक्रममा युनिसेफ, लायन्स क्लब अफ काठमाडौं कीपुलगायत सामाजिक संघसंस्थाहरूले मास्क बैंकमा मास्क उपलब्ध गराएका थिए । सो मास्क सबै वडाबाट निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइएको कीर्तिपुर नगरपालिकाले जनाएको छ ।