प्रकृतिको अनुपम उपहार स्वर्ग नेपाल: सदगुरु।

काठमाडौं:= भारतीय प्रसिद्ध योगगुरु सदगुरुले प्रकृतिको अनुपम उपहार र स्वर्ग नेपाल भएको बताउनुभएको छ । कैलाश मानसरोवर यात्राबाट फर्किनुभएका सदगुरुले शनिबार नेपाल पर्यटन बोर्डद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा प्रकृतिको अनुपम उपहार र स्वर्ग नेपाल नै रहेकाले समृद्धि यहीँबाट हुने बताउनुभएको हो । ‘नेपालको समृद्धि पर्यटनबाटै सम्भव छ’, उहाँले भन्नुभयो ।

उहाँले नेपाल ‘एसियाको स्विट्जरल्याण्ड’ भएको पनि बताउनुभयो । नेपाल एसियाको स्विट्जरल्याण्डको उपमा भएको बताउँदै कार्यक्रममा सदगुरुले भन्नुभयो, ‘नेचर, कल्चर, एडभेन्चर, यहाँ नभएको के छ ? सबैथोक छ । केवल व्यवस्थापन खाँचो छ र यसैबाट समृद्धिको यात्रा तय गर्ने त्यो चिन्तन उजागर हुँदाको दिन नेपालको समृद्धिलाई कसैले रोक्न सक्दैन ।’

पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले सदगुरुलाई स्वागत गर्नुभएको थियो । सदगुरु केही दिन पहिला नेपाली भूभाग लिमि भ्याली भएर कैलाश मानसरोवर तीर्थयात्रामा निस्कनुभएको थियो ।