‘चीनसँग सीमा समस्या छैन, कसलाई खुसी पार्न विवाद झिकियो ?’
काठमाडौं:= प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसिसी सम्झौताबारे सरकारको धारणा स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माग गर्नुभएको छ । नेकपा एमाले काठमाडौं महानगर कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा बोल्दै पूर्व–प्रधानमन्त्री ओलीले कांग्रेस र माओवादी केन्द्र मिलेर एमसिसी सम्झौता गरेको र अहिले चुपचाप बसिरहेको भन्दै आपत्ति जनाउनुभयो ।
उहाँले एमसिसी झुक्याएर पास गर्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराउनुभयो । उहाँले सम्बोधनका क्रममा एमसिसीबारे सत्तारूढ गठबन्धनलाई पटक–पटक प्रश्न गर्नुभयो । ‘यिनै मान्छेहरू हुन् । कांग्रेस र माओवादी भएका बेला एमसिसी सम्झौता गरे । अहिले एमसिसी बोल्दैन । झुक्याएर पास गर्न खोज्या होला ! बोल्दैनन् । के गर्ने हो भन्दैनन् । जनताका अगाडि यिनीहरूले गरेको एमसिसी के भन्छन त ! भन्नु पर्दैन ? शेरबहादुर देउवाजीले भन्नु पर्दैन ? एमसिसी के गर्ने ? अनि प्रचण्डजीले बोल्नु पर्दैन । हिजो साइन गर्नुभएको थियो त । के गर्ने एमसिसी ? उहाँहरू चुपचाप हुनुहुन्छ,’ ओलीले भन्नुभयो । एमसिसीबारे देउवा र दाहाल चुपचाप रहेको ओलीले बताउनुभयो । ‘यस्ता अनगिन्ती कुराहरू उहाँहरूले गोप्य राखेर, नेपाली जनतालाई छक्याएर विकास निर्माण विकासको गतिलाई रोकेर’ राखेको ओलीको आरोप थियो ।
अध्यक्ष ओलीले चीनसँग हुँदै नभएको सीमा विवाद अध्ययन गर्न भनेर सरकारले समिति बनाएको भन्दै आपत्ति पनि जनाउनुभयो । उहाँले भन्नुभयो, ‘चीनसँग कुनै सीमा विवाद छँदै छैन, कसलाई खुसी पार्नको लागि समिति बनाइएको हो ? म चुनौती दिन चाहन्छु, समितिले चीनसँगको सीमा विवाद देखाओस् ।’ सरकारले भारत र चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको ओलीले आरोप लगाउनुभयो ।
‘हाम्रा घरका बिराला देउवाको भान्सामा देखिन्छन्’
नेकपा एमालेका अध्यक्ष ओलीले पार्टी छाडेर नयाँ पार्टी गठन गर्नुभएका माधवकुमार नेपाललाई लाज शरम पचेको मान्छे भनी टिप्पणी गर्नुभयो । उहाँले माधव नेपालले आफूले पूजा गरेको मन्दिरमा अहिले थुकेको टिप्पणी गर्नुभयो । ‘देशको विकासको अभियान चलाइरहेको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने अनि क्रान्तिका कुरा गर्ने ?’ ओलीले भन्नुभयो, ‘मैले यति साह्रो लाज शरम पचेको मान्छे, माधव नेपालजस्तो मान्छे जिन्दगीमा कहीँ पनि देखेको छैन । नेपाल मात्र होइन, दुनियाँको धेरै देशमा पुगेँ, माधव नेपाल जस्तो शरम पचेको मान्छे ।’
उहाँले एमाले छोडेर अहिलेको सरकारमा जान तयार गरिरहेकाहरूलाई देउवाको भान्छामा दूध भात खान गएका बिरालाहरूको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले हाम्रो घरका बिरालाहरू शेरबहादुर देउवाको भान्सामा पुगेका छन् । दूध र भात खान पाइन्छ भन्दै म्याउँ गर्दै ढुक्नलाई पुगेका छन् ।’ नेकपा एमाले छाडेर नेपालले हालै एकीकृत समाजवादी पार्टी गठन गरेपछि ओलीले आक्रोश पोख्नुभएको हो । माधव नेपालले आफू बसेको खाटमा आफैं बञ्चरो हानेको ओलीले टिप्पणी गर्नुभयोे । ‘अस्तिसम्म जुन खाटमा बसिराखेका थिए, त्यही खाटमा बञ्चरोले हान्या हान्यै छन् । अस्तिसम्म जुन पिर्कामा बसेका थिए, त्यही पिर्का भाँचेको भाच्यै छन् । अस्तिसम्म जुन मन्दिरमा पूजा गरेका थिए, त्यो मन्दिरमा थुक्या थुक्यै छन्’ उहाँले भन्नुभयो । ओलीले माधव नेपालको पार्टीमा अन्तिममा माधव नेपाल मात्र बाँकी रहने टिप्पणी गर्नुभयो ।
वामदेवप्रति कटाक्ष : उपप्रधानमन्त्री हुन ओलीलाई गाली गर्नुपर्छ र ?
एमाले अध्यक्ष ओलीले पूर्व-उपाध्यक्ष वामदेव गौतमले उपप्रधानमन्त्री पदका लागि पार्टी छाडेको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले उपप्रधानमन्त्री पाऊँ भनेर निवेदन हाले पनि आफूलाई गाली नगर्न आग्रह गर्नुभएको छ । ‘उपप्रधानमन्त्री हुन पाऊँ भनेर उतातिर भने हुन्छ नि, केपी शर्मा ओलीलाई गाली किन गर्ने ?,’ वामदेव गौतमको नाम नलिईकनै एमाले अध्यक्ष ओलीले यस्तो व्यंग्य गर्नुभयो, ‘निवेदनमा एउटा कुरा छ । निवेदनको व्यहोरा अर्कै छ । बुझ्नै गाह्रो पर्ने गरी ।’ ओलीले थप्नुभयोे, ‘अहिले त कस्तो भइरहेको छ भने उपप्रधानमन्त्री कसैलाई बन्न मन लाग्यो भने निवेदन के व्यहोरामा हालेको छ भने–तपाईं केपी शर्मा ओली एकदमै तानाशाही हुनुभयो । तपाईं केपी शर्मा ओलीले पार्टीले भन्या मान्नुभएन, तपाईं केपी शर्मा ओलीले हामीलाई सम्मान गर्नुभएन, तपाईं केपी शर्मा ओलीले विकास मात्र गर्नुभयो । तपाईं केपी शर्मा ओलीले कुन्नी के जाति गर्नुभयो । त्यसकारण तपाईंको पार्टी छोडेँ ।’ उहाँले एउटा पक्षको नजिक हुनका लागि अर्को पक्षलाई गाली गर्ने प्रचलन बढेको पनि बताउनुभयो ।
एमसिसी स्विकार्दा अमेरिकाले उपनिवेश बनाउँछ : रावल
नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले राजनीतिक अस्थिरताको मौका छोपेर एमसिसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको आरोप लगाउनुभएको छ । शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरूको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले जसरी एमसिसी सम्झौतालाई अस्थिर राजनीति भएको बेलामा अघि सारियो, त्यसरी नै अहिले राजनीतिक अस्थिरता भएको बेलामा संसद्बाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको जिकिर गर्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीको उपाध्यक्षलाई नेपाल बोलाएर नेताहरूको घरघरमा पु¥याउन लागेको उहाँको भनाइ छ । उहाँले एमसिसी पास गरेर देशलाई उपनिवेश बनाउन लागेको भन्दै त्यसको विरुद्धमा आवाज उठाउन पनि नेता–कार्यकर्ताहरूलाई आहृवान गर्नुभयो । उहाँले भन्नुभयो, ‘जसरी बेलायतीहरूले भारतमा इष्ट इण्डिया कम्पनी खोले, त्यो इण्ट इण्डिया कम्पनीभन्दा खतरनाक छ एमसिसी,’ उहाँले भन्नुभयो, ‘जसरी अस्थिर राजनीति भएको बेलामा अगाडि बढाइयो, आज अस्थिर राजनीति भएको बेलामा अब यसलाई अनुमोदन गर्ने षड्यन्त्र हुँदै छ ।’ एमसिसी सम्झौता असमान भएको र सार्वभौमिक समानताको सिद्धान्तअनुरूप नभएको उहाँले उल्लेख गर्नुभयो । एमसिसीको कतिपय प्रावधानहरूले नेपालको आत्मनिर्णयको अधिकार र स्वाधीनतामाथि हमला गर्ने पनि उहाँले बताउनुभयो ।
एमसिसीको सम्बन्धमा नेपालका रेडियो तथा टेलिभिजनबाट विज्ञापन बजाएर राष्ट्रकै अपमान गरिएको उहाँको भनाइ छ । सरकार गठन भएको ५० दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसक्नु वर्तमान सरकारको अयोग्यता र भागबण्डाको राजनीतिको विकृतिको नमुना भएको उहाँले बताउनुभयो । उहाँले जयसिंह धामी प्रकरणमा परराष्ट्र मन्त्रालय र स्वयं प्रधानमन्त्री पनि बोल्न नसकेको भन्दै आफ्नो राष्ट्रको हक, अधिकार र स्वाधीनताको अपमान हुँदा बोल्न नसक्ने मान्छे योग्य नागरिक पनि नहुने टिप्पणी उहाँले गर्नुभयो ।




















