कांग्रेस महाधिवेशन : अधिकांश वडामा निर्विरोध नेतृत्व चयन।

काठमाडौं:= नेपाली कांग्रेसले अधिकांश वडामा निर्विरोध नेतृत्व पाएको छ । शुक्रबारबाट सुरु भएको अधिवेशनमा अधिकांश वडाले निर्विरोध नेतृत्व छानेका हुन् । हिमाली जिल्ला मनाङमा वडा अधिवेशनसँगै जिल्लाकै नेतृत्व सर्वसम्मत चयन भइसकेको छ । वडादेखि क्षेत्र र जिल्लाको नेतृत्व तथा महाधिवेशन प्रतिनिधिहरू समेत सर्वसम्मत चयन भइसकेको छ।

तेह्रथुमका सबै वडामा सर्वसम्मत रूपमै वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चुनिएका छन् । सुदूरपश्चिमको कञ्चनपुरमा ९२ वडामध्ये धेरै वटामा सहमतिबाटै नेतृत्व चयन भएको छ । म्याग्दीका ४५ मध्ये ४३ वडाले सहमतिमै नेतृत्व पाएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँका १० स्थानीय तहका ८५ वडामध्ये ७५ वडामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । ४५ वडा रहेको म्याग्दीमा ४१ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

यी निर्विरोध वडाको नेतृत्व छानेका केही प्रतिनिधि जिल्ला मात्रै हुन् । शुक्रबार अधिवेशन भएका अधिकांश वडामा सर्वसहमतिबाटै नेतृत्व चयन भएको कांग्रेस प्रचार समिति सचिव दिनेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशन सुरु भएका करिब ९० प्रतिशत वडामा निर्विरोध नेतृत्व चयन भएको हो । ‘अधिकांश वडामा निर्विरोध नेतृत्व चयन भएको छ,’ उहाँले भन्नुभयो, ‘शुक्रबार अधिवेशन सुरु भएका करिब ९० प्रतिशत वडामा निर्विरोध नेतृत्व चयन भएको छ ।’

यता, निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले पनि अधिकांश वडामा निर्विरोध नेतृत्व चयन भएको बताउनुभयो । तर, कति वडामा निर्विरोध र कतिमा निर्वाचनबाट नेतृत्व छानियो भन्ने यकिन विवरण भने आइनसकेको बताउनुभयो ।

अधिकांश जिल्लामा निर्विरोध नेतृत्व चयन हुनुले कांग्रेसमा एकता आवश्यक रहेको सन्देश दिएको कांग्रेस सिन्धुपाल्चोक सभापति विकास लामाले बताउनुभयो । वडामा निर्विरोध निर्वाचित नेतृत्वबाट केन्द्रमा शीर्ष नेताहरूले समेत पाठ सिक्न सक्ने उहाँको भनाइ छ । ‘धेरै वडामा निर्विरोध नेतृत्व चयन हुनु कांग्रेसका लागि सुखद खबर हो,’ उहाँले भन्नुभयो, ‘यसले कांग्रेसमा एकताको सन्देश दिएको छ । अब सबै एक हुनुपर्छ भन्ने पाठ वडाबाट प्राप्त भएको छ । यसबाट केन्द्रीय महाधिवेशसनमा शीर्ष नेतृत्वले पनि पाठ सिक्नुपर्छ ।’

उहाँले केन्द्रीय महाधिवेशनमा पनि अन्तिममा अहिले चर्चामा आएका जति उम्मेदवार नरहने र दुई पक्षीय प्रतिस्पर्धा मात्रै हुने विश्वास व्यक्त गर्नुभयो ।

थप दुई जिल्लामा अधिवेशन सुरु 

शनिबार थप दुई जिल्लामा अधिवेशन सुरु भएको छ । समिति सदस्य धिमिरेका अनुसार अहिलेसम्म वडा अधिवेशन सुरु हुने जिल्लाको संख्या ४३ पुगेको छ । क्रियाशील सदस्यता सार्वजनिक भएका ५६ जिल्लामध्ये बाँकी जिल्लामा २३ गतेभित्रै अधिवेशन हुने उहाँले बताउनुभयो । ‘शनिबार झापा र मुस्ताङमा अधिवेशन भयो,’ उहाँले भन्नुभयो, ‘शुक्रबार ४१ जिल्लाको भएको थियो । थप दुई जिल्लासँगै कुल अधिवेशन हुने जिल्लाको संख्या ४३ भयो । २३ गतेसम्म क्रियाशील सदस्यता प्रकाशित सबै जिल्लाको अधिवेशन भइसक्छ ।’

१९ वर्षीया युवती वडा सभापति

एक १९ वर्षीया युवती कांग्रेसको वडा सभापति बन्नुभएको छ । कर्णाली प्रदेशको दैलेखमा शुक्रबार भएको वडा अधिवेशनबाट १९ वर्षीया स्वस्तिका महत सभापति बन्नुभएको हो । दैलेखको दुल्लु नगरपालिका–३ मा भएको अधिवेशनबाट महत निर्विरोध सभापति बन्नुभएको हो । महतको पारिवारिक पृष्ठभूमि कांग्रेस नै हो । उहाँ दैलेखका कांग्रेसका स्वर्गीय नेता भूपेन्द्र महतकी छोरी हुनुहुन्छ ।

क्रियाशील सदस्यता टुंगिएका जिल्लामा धमाधम वडा अधिवेशन भइरहँदा २१ जिल्लामा भने कहिले हुने भन्ने टुंगो छैन । प्रदेश २ का कुनै पनि जिल्लाको क्रियाशील सदस्यको टुंगो लागेको छैन । प्रदेशका आठ वटै जिल्लामा विवाद कायमै छ । त्यस्तै, प्रदेश १ को मोरङ, बागमती प्रदेशका काठमाडौं, काभ्रे, रसुवा र सिन्धुपाल्चोक, लुम्बिनी प्रदेशका बाँके र बर्दिया, कर्णाली प्रदेशका डोल्पा र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशका बाजुरा, डडेल्धुरा र कैलालीका क्रियाशील सदस्यको विवाद टुंगिएको छैन ।

कांग्रेसले स्थानीय तहको अधिवेशन २७ भदौमा गर्ने कार्यतालिका छ । त्यस्तै, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय तथा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते र प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ । आगामी मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।