भोजपुर := नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत शुक्रवारदेखि शुरु वडा अधिवेशन अन्तर्गत भोजपुरका सवै वडामा अधिवेशन सम्पन्न भएका छन ।
कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भई सकेका ५६ जिल्लामध्ये भोजपुरमा पनि वडा अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस भोजपुरका सचिव चक्र कार्कीले बताउनु भयो । भोजपुरमा तोकिएको मितिमा नै वडा अधिवेशनहरु सम्पन्न गरिएको हो । भोजपुरमा २ नगरपालिका र ७ वटा गाउँपालिका छन् । जसमा कुल ८१ वटा वडाहरु रहेका छन ।
कांग्रेसको प्रारम्भिक तहको वडा अधिवेशनमा पार्टीका नेता कार्यकर्ता आफ्ना जिल्ला तथा वडामा चुनावी माहोलमा केन्द्रित भएका छन् । कतिपय वडामा सहमतिका साथ वडाको नेतृत्व चयन गरिएको छ भने कतिपय वडामा निर्वाचन प्रक्रिया मात्र नेतृत्व चयन भएको छ ।
वडा अधिवेशनले सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक मतदाता संख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित गरिने छ ।
महाधिवेशन अन्तर्गत वडा अधिवेशनभदौ १८, गाउँ तथा नगरपालिका अधिवेशन भदौ २७, प्रदेश सभा क्षेत्रीय अधिवेशन आउँदो असोज १ र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ ।




















