[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= यतिबेला गैर आवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशनको चुनावी सरगर्मी देश देखि विदेशसम्म बढेको छ।
आउदै गरेको अक्टोबर महिनामा हुने एनआरएनएको १० औं महाधिवेशनबाट आउदो कार्यकाल २०२१ देखि २०२३ सम्मको लागि एनआरएनएको नेतृत्व सम्हाल्ने र चुनाव लडेर एनआरएनएको नेतृत्व आफ्नो हातमा लिन विभिन्न अन्तर्राष्ट्रिय देशमा लामो समयदेखि बसोबाससंगै ब्यापार , ब्यावसाय गर्दै आएका एनआरएनए व्यक्तित्वहरुको लामै जमात लागिपरेका छ्न।
सोही क्रममा बिगत कैयौं बर्षदेखि मलेसियामै बसि असल समाजसेवी संगसंगै सफल ब्यावसायीको परिचय स्थापित गर्न सफल एनआरएनए व्यक्तित्व हरिप्रसाद भट्टराईले गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनमा एसिया प्यासिफिक क्षेत्रीय उप-संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका छ्न।
एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष भट्टराईले सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरिसकेका छन्।
उप संयोजक पदमा उम्मेदवारी घोषणा गर्दै भट्टराईले आफू लिन नभई दिन अघि बढेको स्पष्ट पारे।
एसिया प्रशान्त क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरुका समस्या समाधानका लागि सक्दो खटेको बताउँदै थप सक्रिय रुपमा लाग्ने प्रतिवद्धतासमेत जनाए।
‘सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगार, युवा पुस्ताको सहभागिता र श्रमिकमैत्री एनआरएन सरोकार भन्ने मूल मन्त्रका साथ म अगाडि बढेको छु,’ उनले भने।
एनआरएनए मलेसियाको नेतृत्वमा रहँदा उनले १५ लाख रुपैयाँको कल्याणकारी कोष स्थापना गरी अप्ठ्यारो परेका नेपालीलाई सहयोग पुर्याएका थिए।
भट्टराईकै पहलमा कस्टकर जेल जीवन बिताइरहेका ७० बढी नेपालीलाई स्वदेश फर्काइएको थियो। महामारीका कारण जोखिममा परेका ६ हजार तीन सय बढीलाई सहयोग पुर्र्याएको उनले बताए। आफ्ना सबै कामलाई निरन्तरता दिने प्रतिवद्धतासमेत उनले व्यक्त गरे।
एनआरएनएमा एसिया प्यासिफिक उप–संयोजकमा दुई वटा पद हुन्छ, जसमा मलेसियाबाट नै विश्व राईले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्। यद्यपि सहमतिमा मलेसियाले उप–संयोजक पद पाउनु पर्ने भट्टराईको दावी छ।
‘एनआरएनए मलेसियाको वर्तमान कार्यसमितिले मलाई सर्वसम्मत उप–संयोजकमा उठ्न अनुरोध गरिसकेको र एसिया प्यासिफिक देशमा रहेका एनआरएनए साथीहरूले सहयोग गर्ने प्रतिवद्धता जनाएकाले र एसिया प्यासिफिक क्षेत्रमा रहेका अधिकांश संघ–संस्था, सदस्य र अग्रजको साथ रहेकोले मेरो विजय सुनिश्चित छ’ भट्टराईले दावी गरे।

यस्ता छन् एसिया प्यासिफिक उप–संयोजकमा उम्मेदवारी दिइएका भट्टराईको प्रतिवद्धता :
१. एनआरएनए एसिया प्यासिफिकका हरेक गतिविधि श्रमिकमैत्री बनाउने।
२. नेपाल र एसिया प्यासिफिकको सम्बन्धमार्फत व्यापारिक तथा आर्थिक सम्बन्ध विस्तार गर्ने।
३.कोभिडका कारण रोजगार गुमाएका, समस्यामा परेका, बिरामी तथा जेलमा रहेका नेपालीलाई निशुल्क स्वदेश पठाउन अथवा रोजगार दिलाउन पहल गर्ने।
४. नेपालीका प्रमुख श्रम गन्तब्य मलेसिया, जापान, दक्षिण कोरियालगायत मुलुकमा रहेका नेपाली श्रमिकलाई फाइदा पुग्ने गरी दुई देशबीचको सम्बन्ध स्थापित गराउने।
५. विदेशस्थित नेपाली नियोगहरुसँग एनआरएनको सहकार्य मजबुद बनाउने।
६. कोभिड १९ महामारीको समस्या र यसले पार्ने मनोवैज्ञानिक असर न्यूनीकरणका लागि स्वास्थ्य शिविर तथा परामर्शका कार्यक्रम गर्ने।
७. नेपाली कला तथा सस्कृतिलाई विश्वमा चिनाउन पहल गर्ने।
८.श्रमिक गन्तब्य देशमा आवतजावत गर्ने हवाई शुल्क सहुलियत बनाउने।
९.एनआरएनएमा युवा तथा दोश्रो पुस्ताको आकर्षण बढाउने तथा विदेशमा नेपाली भाषा, कला–संस्कृति जगेर्नाका लागि अभियान सुरु गर्ने।




















