काठमाडौं:= नेपालसित मैत्रीपूर्ण फुटबल खेल्नका लागि काठमाडौं आइपुगेको भारतीय टोली अभ्यासमा व्यस्त भएको छ । मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोली नेपालसित दुई मैत्रीपूर्ण खेल खेल्नका लागि मंगलबार साँझ नेपाल आइपुगेको हो । नेपालले यही भदौ १७ र २० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसित मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ ।
भारतीय टोलीमा अमरिन्दर सिंह, धिरज सिंह, गुरप्रितसिंह सन्धु, प्रितम कोतल, चिलेसना सिंह, मन्दरराओ देसाई, आकाश मिश्रा, राहुल भेके, शुभाशिष बोस, सेरिटन फर्नान्डेज, ललेङ माबिआ, विपिन सिंह, अनिरुद्र थापा, सहल अब्दुल सामद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहमद, ग्लान मार्टिन्स, सुरेश सिंह, जेक्सन सिंह, प्रोनय हल्दर, मनवीर सिंह, रहिम अली, सुनिल क्षेत्री र फारुख चौधरी रहनुभएको छ ।
विमानस्थलमा पत्रकारहरूसित संक्षिप्त कुरा गर्दै भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपाली टोली आफ्नो टोलीका लागि कठिन प्रतिद्वन्द्वी भएको प्रतिक्रिया दिनुभयो । उहाँले नेपाली टोलीलाई कमजोर आँक्न नमिल्ने बताउनुभयो । लामो समयसम्म अभ्यास गर्न नपाएको उल्लेख गर्दै कप्तान क्षेत्रीले मैत्रीपूर्ण खेल अभ्यास गर्ने र आफ्नो खेलमा सुधार ल्याउने बताउनुभयो । उहाँले मैत्रीपूर्ण खेल आयोजना गरेकामा एन्फा र नेपाल सरकारलाई धन्यवादसमेत दिनुभयो ।
‘पहिला पनि हामीले नेपालसँग खेलेका थियौं । नेपाल कठिन प्रतिद्वन्द्वी हो,’ नेपाली मूलका भारतीय कप्तान सुनिलले भन्नुभयो, ‘नेपाल सरकार र नेपाल एफए (एन्फा) लाई धन्यवाद । यस्तो अवस्थामा पनि हामीलाई राम्रो हस्पिटालिटी दिएको छ ।’
नेपाली टोली भने हाल बन्द प्रशिक्षणका लागि कास्कीको पोखरामा रहेको छ । नेपाली टोलीमा किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, सुरजजिउ ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अञ्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ र आशिष लामा रहनुभएको छ । नेपाली टोलीमा रोहित चन्द अनुपस्थित रहनुहुनेछ । उहाँ हाल फुटबल खेल्ने सिलसिलामा इन्डोनेसियामा हुनुहुन्छ ।
नेपाल र भारतबीच हालसम्म १९ वटा खेलमा प्रतिस्पर्धा भएकामा भारतले १३ खेलमा जित हासिल गरेको छ भने नेपाल दुई खेलमा मात्र विजयी भएको छ । दुवै देशले चार खेल बराबरी खेलेका थिए । भारतले नेपालको पोस्टमा ३३ गोल गरेको छ भने नेपालले भारतको पोस्टमा नौ गोलमात्र गर्न सकेको छ । विश्व फुटबल महासंघ (फिफा) को बरियताअनुसार पुरुष फुटबल टोलीतर्फ भारत १०५औं तथा नेपाल १६८औं स्थानमा रहेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) को तयारी गर्न कतारको दोहा जानेछ । नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ । नेपाली टोलीलाई हाल मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण दिइरहनुभएको छ । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ ।
नेपालले आयोजक माल्दिभ्ससँग असोज १५ गते, दोस्रो खेल श्रीलंकासँग असोज १८ गते, तेस्रो खेल भारतसँग असोज २४ गते तथा लिग चरणको अन्तिम खेल बंगलादेशसँग असोज २७ गते खेल्ने तालिका रहेको एन्फाले जनाएको छ ।
नेपाल, भारत, श्रीलंका, बंगलादेश र माल्दिभ्स सम्मिलित उक्त प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोली उपाधिका लागि असोज ३० गते भिड्नेछन् । भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) को तयारी गर्न कतारको दोहा जानेछ । नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ ।
कप्तान सुनिलले आफ्नो टोलीले साफ च्याम्पियनसिपको तयारी राम्रोसँग गर्न नपाएको र यो मैत्रीपूर्ण खेल त्यसैका लागि राम्रो तयारी हुने बताउनुभयो । ‘हामीले साफको तयारी गर्न पाएका छैनौं । केटाहरू एएफसी कपमा थिए । अहिले हाम्रो देशमा लिग छैन । दुईवटा टिममात्र एएफसीको प्रतियोगिताका लागि तयारीमा छन् । अरू सबै खेलाडी आराममा छन्,’ भर्खरै माल्दिभ्सको मालेमा एएफसी कप खेलेर फर्किनुभएका सुनिलले भन्नुभयो ।
यस्तै कप्तान सुनिलले दुई मैत्रीपूर्ण खेल नै साफको तयारी हुने र आफूहरू मिहिनेत गरी आफ्नोतर्फबाट शतप्रतिशत दिएर मैदानमा उत्रने बताउनुभयो । ‘अहिले कोभिडका कारण अत्यन्तै कठिन परिस्थिति हुँदा साफ च्याम्पियनसिपका लागि मैत्रीपूर्ण खेलले हामीलाई धेरै सहयोग पुग्नेछ । हामी पूरा मिहिनेतका साथ आफ्नोतर्फबाट शतप्रतिशत दिएर मैत्रीपूर्ण खेलमा उत्रिनेछौं । त्यसपछि उपाधि जित्ने लक्ष्यसहित हामी साफ च्याम्पियनसिपका लागि माल्दिभ्स जानेछौं,’ सुनिलले थप्नुभयो ।




















