काठमाडौं:= नेपाली म्युजिक भिडियो र फिल्ममा प्रायः देखाइने विषयवस्तु भनेको प्रेम, विछोड, द्वन्द्व नै हो । यी भिडियो र चलचित्रमा कहीँ कतै मौलिकता भेटिए पनि अधिकांश निर्देशकले मौलिकतालाई प्राथमिकता दिँदैनन् । तर, भिडियो निर्देशक विधान कार्कीले भने परम्परागत शैलीभन्दा फरक रहेर नेपाली मौलिकतालाई अंगाल्ने गर्नुभएको
उहाँ भिडियोमा नेपालीपन, ग्रामीण परिवेश, स्थानीय भेषभूषा र चरित्रलाई महत्व दिनुहुन्छ । उहाँका पछिल्लो समय सार्वजनिक गीतका भिडियोलाई नियाल्ने हो भने नेपाली समाजको मौलिक कथावस्तुलाई प्रमुख प्राथमिकतामा राखी संसारभरका दर्शकलाई नयाँ स्वाद दिन सफल भएको देखिन्छ ।
उहाँले भिडियोमा नेपालको तराई, पहाड, हिमालको परिवेश र जनजीवनलाई कथामा समेट्दै विभिन्न चरित्र सिर्जना गर्ने गरेको पाइन्छ । ती चरित्रमा नेपालका स्थापित कलाकारदेखि नवकलाकारलाई पात्रका रूपमा स्थापित गराउन उहाँ सक्षम हुनुहुन्छ । मौलिकतालाई स्थान दिएकै कारण उहाँका भिडियो व्यावसायिक रूपमा सफल भएका छन् । सबै उमेरका दर्शकले उत्तिकै मनपराएका छन् ।
‘यी विषय वस्तुलाई भिडियो अथवा फिल्ममार्फत पर्दामा देखाउँदा त्यसको बढी प्रभाव आमदर्शकमाझ पर्छ । दुवै विधाका निर्देशक भएको हिसाबले यो मेरो दायित्व हो । मेरो सिर्जनाले समाजमा सकारात्मक प्रभाव देख्दा म सन्तुष्ट छु । म यसलाई सफलता मान्छु’, विधानले हिमालय टाइम्सलाई भन्नुहुन्छ ।
विधानले गीत ‘नबोली नबोली’को भिडियोमा नेपाली समाजको विकृतिका रूपमा रहेको जातभात र वर्गविभेदलाई अस्वीकार गरी समानता र एकताबद्ध हुनुपर्ने सन्देश देखाउनुभएको छ । उहाँको यो निर्देशकीय प्रस्तुति तारिफयोग्य बनेको छ । जसको परिणाम यो भिडियोले २०७७ सालमा नेपालको सर्वाधिक हेरिएको भिडियो र व्यावसायिक रूपमा सफल भिडियोको रेकर्ड राखेको छ । साथै भिडियोले उल्लेखनीय सकारात्मक प्रतिक्रिया पाएको छ । यो गीतको भिडियोका लागि विधानले नेपालका तीनवटा राष्ट्रियस्तरका अवार्डसमेत चुम्न सफल भएका छन् ।
त्यस्तै अर्को भिडियो ‘केटो अलि कमाउने होस्’ले मानिसको व्यक्तिगत चाहनालाई समाजको कुनै परिधिले रोक्न नसक्ने सन्देश दिएको छ । भिडियोका दुई पात्र सुधीर र श्रेयामार्फत स्वालम्बन, स्वनिर्णयको अधिकार र मानवअधिकारको विषयलाई उठान गरिएको छ । यो भिडियोबाट विधानले भारतको प्रतिष्ठित अवार्डमा निर्देशकीय विधाको अवार्ड जित्नुभएको छ ।
विधानले निर्देशन गर्ने म्युजिक भिडियोको कथावस्तु नै मौलिक हुन्छ । त्यसका पात्रहरू कला, भाषाभाषीमार्फत चरित्रको चित्रण गरिएको हुन्छ । त्यो भिडियो युट्युब तथा अन्य प्लेटफर्ममार्फत विश्वमाझ पुगेको छ । अन्तर्राष्ट्रिय म्युजिक भिडियो फेष्टिभलमा समेत उहाँका भिडियो छनोट भएका छन् ।
‘मेरो भिडियोमा अग्र्यानिक कथावस्तु हुन्छ र त्यो भन्नै पर्ने कथावस्तु हुन्छ । हरेक भिडियोमा सकारात्मक अन्त्य गर्छु । त्यसले समाजका व्यक्तिलाई कहीँ न कहीँ सकारात्मक असर अथवा ऊर्जा दिएको हुन्छ’, विधानको बुझाइ छ । विधानको अनुभवमा उहाँको भिडियोले लागूऔषधमा परेकालाई त्यसबाट छुटाउन प्रोत्साहन गर्ने, प्रेममा परेकालाई उनीहरूको प्रेमलाई सकारात्मक गन्तव्य दिने, जातजाति र वर्गविभेदका विरुद्ध चेतना जगाउने काम गर्नुभएको छ ।
उहाँ भिडियोमार्फत नेपालको भौगोलिक पर्यटन प्रवद्र्धनमा जोड दिनुहुन्छ । उहाँले भिडियोमार्फत नेपालको सुन्दरतालाई विश्वमाझ देखाइरहनुभएको छ । जसकारण उहाँले एउटै भिडियोमा चार–पाँचवटा लोकेसनमा छायांकन गर्नुभएको छ । उहाँको भिडियो ‘रित्तो रित्तो’, ‘चुपचाप चुपचाप’ फरक लोकेसनमा खिचिएका छन् । उहाँले राष्ट्रिय रूपमा विभिन्न सम्मान, अवार्ड जित्नुभएको छ । अन्तर्राष्ट्रिय फेष्टिभलमा नेपालबाटै पहिलोपटक उहाँको भिडियो छानिएको छ । भारतमा भएको रोशनी रिल्स इन्टरनेसनल फिल्म फेष्टिभल २०२१मा निर्देशकका हिसाबले वेष्ट म्युजिक भिडियो कन्सेप्टको अवार्ड जित्नुभएको छ ।
विधान गाउँबाट सहर आएर पढनुभयो । फिल्ममा स्कोप नदेख्दा नदेख्दै पनि घरपरिवारमा कोही सदस्य नभए तापनि उहाँ निर्देशकीय कुरामा आफूलाई परिस्कृत गर्दै लैजान थाल्नुभयो । फलस्वरूप उहाँ अहिले नेपालकै स्थापित र सफल भिडियो निर्देशकको रूपमा परिचित हुनुहुन्छ । उहाँ अहिले नेपालकै स्थापित र सफल भिडियो निर्देशकको रूपमा परिचित हुनुहुन्छ । उहाँ अहिले फिल्म निर्माण र निर्देशनमा आउन चाहने युवापुस्तका लागि उहाँ प्रेरणाको स्रोत बन्नुभएको छ ।
म्युजिक भिडियोमा अगाडि पछाडि कथा बुन्ने, बीचमा संवाद हाल्ने र गीतलाई भिडियोको माध्यमबाट अझ बढी सशक्त ढंगबाट देखाउने प्रयोगलाई विधानले सफल बनाउनुभएको छ । उहाँ यस्तो प्रयोगको अन्वेषण गर्ने नेपालका पहिलो भिडियो निर्देशक हुनुहुन्छ । त्यसपछि नेपालका अन्य भिडियो निर्देशकले उहाँको यो प्रयोगलाई अंगालेको पाइन्छ । भिडियो निर्देशनमा विधानको प्रवेशपछि कथाको माध्यमबाट युट्युबमा राम्रो दर्शक तान्न सकिन्छ भन्ने प्रमाणित गरिदिनुभयो । उहाँले नेपाली म्युजिक भिडियोलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउनेसँगै दर्शकले मनपराउने खालका भिडियो बनाउन आफूलाई अब्बल सावित गर्नुभएको छ ।
सुधीर श्रेष्ठ, गरिमा शर्मा, दीपा-दमन्ता, विक्रम बुढाथोकी, सुदीप श्रेष्ठ जस्ता कलाकारलाई भिडियोमा ल्याउने काम विधानले नै गर्नुभएको हो । यसबाहेक फिल्ममा स्थापित भएका सबै कलाकारसँग उहाँले काम गर्नुभएको छ । उहाँले आकाश श्रेष्ठ, पल शाह र पूजा शर्मालाई पहिलो पटक एकसाथ भिडियोको पर्दामा ल्याउन सफल हुनुभएको छ ।
निर्माताको रोजाइमा पर्ने भिडियो निर्देशकमा विधान पनि पर्नुहुन्छ । उहाँले चारदेखि पाँच मिनेटको भिडियोमा फिल्म शैलीमा दर्शकले बुझ्ने गरी र कथा भन्न सक्नेगरी कलाकारलाई अभिनय गराउनुभएको छ । २०७७ सालमा उहाँको निर्देशन रहेको भिडियो ‘नबोली नबोली’ समिक्षात्मक र व्यावसायिक रूपमा सफल भिडियो हो । यो भिडियो युट्युबमा २०७७ सालमा सर्वाधिक हेरिएको र टेलिभिजनमा सर्वाधिक बजाइएको भिडिया हो । यो भिडियोले नेपालमा भएका प्रायः सबै अवार्डमा अवार्ड जितेको छ । उहाँले १० वर्षमा संख्यात्मकभन्दा गुणात्मक किसिमका झण्डै सय भिडियो निर्देशन गर्नुभएको छ ।
विधानको व्यावसायिक सफल भिडियोमा ‘नबोली नबोली’, ‘केटो अलिक कमाउने होस्’, ‘काले केटा २’, ‘धर्ती आकाश’लगायत पर्छन् । कोरोना भाइरसको संक्रमणलाई रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञापछि भिडियोमा चलायन अवस्था बनाउन विधानको योगदान महत्वपूर्ण छ । म्युजिक भिडियोबाट अन्तर्राष्ट्रिय अवार्ड जित्ने विधान नै पहिलो नेपाली निर्देशक हुनुहुनछ ।
विधान नेपाल म्युजिक भिडियो निर्देशक समाजको संस्थापक अध्यक्षसमते हुनुहुन्छ । उहाँको अब्बल नेतृत्व क्षमता र निर्देशकीय क्षमतालाई मनन गर्दै उहाँका समकालिन निर्देशकले उहाँलाई यो जिम्मेवारी सुम्पिएका छन् । ‘साथीहरूले मेरो कार्यदक्षतालाई बुझेर मलाई महत्वपूर्ण जिम्मेवारी सुम्पनु भएको छ, म यस क्षेत्रको श्रीवृद्धिका लागि के कस्ता कार्य गर्न सकिन्छ भनेर यतिबेला लागिरहेको, तत्कालीन र दीर्घकालीन कार्य योजाना बनाएर भिजन र मिसनका साथ अगाडि बढदै छु’, विधानले भन्नुभयो ।




















