काठमाडौं:= नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच लगानी र व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) पदाधिकारीसँग भएको मंगलबारको भेटवार्तामा उहाँले यस्तो बताउनुभएको हो । राजदूत चौधरीले बंगलादेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त लगानी गन्तव्य रहेको बताउनुभयो । नेपाली वस्तुलाई बंगलादेश निर्यातका लागि सुविधा प्रदान गर्न आफ्नो देश तयार रहेको भन्दै उहाँले उक्त सुविधाले दुई देशबीचको व्यापार घाटा न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो ।
राजदूत चौधरीले भन्नुभयो, ‘नेपाल र बंगलादेशले लगानी विस्तार र व्यापार घाटा न्यूनीकरणका लागि सहकार्य गर्ने धेरै ठाउँ छन् ।’ उहाँले नेपालको पर्यटन बंगलादेशका नागरिकका लागि पहिलो भ्रमण गन्तव्यका रूपमा रहेको पनि बताउनुभयो। नीतिगत सुधार र उद्योगलाई दिएको सहुलियत र संरक्षणका कारण बंगलादेशले धेरै क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्दै उहाँले नेपालले पनि सोही नीति अनुशरण गर्न सक्ने बताउनुभयो । बंगलादेशले सामाजिक क्षेत्र र आर्थिक क्षेत्रलाई सँगसँगै अघि बढाएका कारण अर्थतन्त्रलाई गतिशील बनाउन सकेको उदाहरणसमेत उहाँले प्रस्तुत गर्नुभयो । राजदूत चौधरीले भन्नुभयो, ‘बंगलादेश महिला र साना व्यवसायमा केन्द्रित हुँदा दिगो आर्थिक वृद्धिको आधार तयार गर्न सफल भयो ।’
सो अवसरमा सीएनआई अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा जलविद्युत् क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको जानकारी गराउँदै त्यसमा बंगलादेशी लगानीकर्ता आकर्षित हुनसक्ने बताउनुभयो । बंगलादेशलाई ऊर्जाको ठूलो आवश्यकता रहेको भन्दै उहाँले त्यो आवश्यकता परिपूर्ति गर्न नेपालबाट विद्युत् निर्यात एउटा महत्वपूर्ण विकल्प हुने बताउनुभयो ।
दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि गर्न द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता गरेर अघि बढ्न सकिने अध्यक्ष अग्रवालको भनाइ थियो । अध्यक्ष अग्रवालको उक्त भनाइमा राजदूत चौधरीले समर्थन जनाउनुभएको सीएनआईले जनाएको छ । अध्यक्ष अग्रवालले नेपालको अर्थतन्त्रमा उद्योगको हिस्सा अभिवृद्धि गर्ने, नेपालको निर्यात बढाउने र रोजगारी सिर्जना गर्ने उद्देश्यले परिसंघले मेक इन नेपाल– स्वदेशी अभियान अघि बढाएको जानकारीसमेत गराउनुभयो । उहाँले अभियानको उद्देश्य नेपालको अर्थतन्त्रको संरचनामा परिवर्तन गराउनु रहेको र त्यसको नेतृत्व सीएनआईले लिने बताउनुभयो ।
सीएनआईका उपाध्यक्ष निर्वाणकुमार चौधरीले बंगलादेशी लगानीकर्तालाई सहजीकरण गर्न सीएनआई तयार रहेको बताउनुभयो । उहाँले नेपाली उत्पादनलाई प्राथमिकता र सुविधा दिन पनि बंगलादेशलाई आग्रह गर्नुभयो । सीएनआईको कार्यालयमा भएको भेटवार्तामा सीएनआईका उपाध्यक्षहरू कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह र रोहित गुप्ताका साथै बंगलादेशी राजदूतावासका तर्फबाट मिनिस्टर तथा डेपुटी चिफ अफ मिसन इस्रात जहान र प्रथम सचिव अलाम्गिर इस्लाम खानको उपस्थिति रहेको बताइएको छ ।




















