काठमाडौं:= काठमाडौं उपत्यकामा आज (बुधबार)देखि नियमित रूपमा फोहोर उठाइने भएको छ । काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको बैठकले लामो समयदेखि उठ्न नसकेको फोहोर उठाउने निर्णय गरेको हो । ‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ,’ काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले भन्नुभयोे, ‘स्थानीयका हामीले गर्न सक्ने समस्या भए हामी समाधान गर्छौं । हामीले समाधान गर्न नसक्ने समस्या भए हामी सम्बन्धित निकायसँग समाधानका लागि पहल गर्छौं । तर, लामो समयसम्म फोहोर नउठाउने कुरा हुँदैन ।’
मेयर शाक्यले स्थानीयहरूलाई कुनै पनि असर नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरी निरन्तर लागेको जानकारी दिनुभयो । ‘काठमाडौं महानगरपालिकाले विगतका दिनमा पनि सिसडोलबासीका विभिन्न माग सम्बोधन गर्दै आएको छ,’ शाक्यले भन्नुभयो, ‘अहिले पनि उहाँहरूका जायज र काठमाडौं महानगरपालिकाले सम्बोधन गर्न सक्ने माग पूरा गर्न हामी सकारात्मक छौँ ।’
उहाँले फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी महानगरपालिकाको मात्रै नभई सम्पूर्णको समस्या हो भन्दै त्यसैले सबैतिरबाट सकारात्मक सहयोगको अपेक्षा गरेको बताउनुभयो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले काठमाडौं महानगरपालिकाका प्रमुखको संयोजकत्वमा बसेको बैठकमा सकारात्मक छलफल भई फोहोर उठाउने निर्णय भएको जानकारी दिनुभयो । ‘बैठकले मोटामोटी तीन-चार वटा निर्णय गरेको छ,’ पराजुलीले भन्नुभयो, ‘पहिलो निर्णय नै काठमाडांै उपत्यकाको फोहोर बुधबार बिहान ६ बजेबाट उठाउने भयो ।’
उहाँले त्यहाँ जाने बाटो सडक विभागले काठमाडौं महानगरपालिकासँग समन्वय गरेर तत्काल व्यवस्थापन गर्ने दोस्रो निर्णय भएको जानकारी दिनुभयो । ‘फोहोर उठाउन र त्यहाँ व्यवस्थापन गर्ने सन्दर्भमा सुरक्षा चुनौती देखियो भने शान्ति–सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउने भन्ने भएको छ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र काठमाडौं बीच समन्वय गरेर सुरक्षाको प्रबन्ध मिलाउने र तत्काल फोहोर व्यवस्थापन गर्ने भन्ने भएको छ ।’
पराजुलीले स्थानीय अवरोध भए बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्ने जानकारी दिनुभयो । ‘फोहोर नगरपालिकाले उठाउँछ । स्थानीय स–साना विषय भए त्यो महानगरपालिकाले समन्वय गर्छ,’ पराजुलीले भन्नुभयो, ‘मैले प्रहरीलाई स्पष्ट आदेश दिएको छु । उहाँहरूको स्थानीय समस्या भए लेखेर दिनुहोला । कसले सम्बोधन गर्ने हो छलफल गरेर अघि बढ्छौँ । तर, अवरोध गर्ने भन्ने हुन्न । हामी सकेसम्म सम्झाइ–बुझाई गरेर शान्ति सुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्छौं । भएन भने बल प्रयोगको नियम प्रयोग गरेर भए पनि व्यवस्थापन गर्छौ ।’
काठमाडौंका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले पनि सकेसम्म शान्ति सुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्ने र नभए बल प्रयोग गर्ने जानकारी दिनुभयो । ‘स्थानीय व्यक्तिका समस्या छन् भने त्यसको सुनुवाइ गर्ने प्रयास हुन्छ,’ सिंहले भन्नुभयो, ‘त्यति गर्दा पनि अवरोध कायम भए कारबाहीको दायरामा ल्याएर भए पनि फोहोर व्यवस्थापन गर्छौं ।’




















