दार्चुला तुइन प्रकरण छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन।

काठमाडौं:= दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइन काटेर नेपाली बेपत्ता भएको घटनामा छानबिन गर्न गठित समितिले प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँडलाई बुझाएको छ । मंगलबार साँझ गृह मन्त्रालयमा खाँणले प्रतिवेदन बुझ्नुभएको हो । भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता हुनुभएको थियो । धामी अझैसम्म फेला पर्नुभएको छैन ।

सो घटनाको छानबिन गर्न गत साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा समिति बनाइएको थियो । छानबिन टोलीमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य हुनुहुन्थ्यो ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले प्रतिवेदन कार्यान्वयनको प्रक्रिया थाल्न गृहसचिव टेकनारायण पाण्डेलाई निर्देशन दिनुभएको छ ।

सरकारले यसअघि धामीको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति  दिने घोषणा गरिसकेको छ । दार्चुलामा महाकाली नदी तर्दा तुइन चुँडिएर ३३ वर्षीय जयसिंह धामी १५ साउनमा बेपत्ता हुनुभएको थियो ।  साउन १७ मा गठन गरिएको समितिलाई सुरुमा १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउने समय दिइएको थियो । पछि प्रतिवेदन बुझाउने समय थप गरिएको थियो ।