सांसदहरू एकीकृत समाजवादीमा खुल्न थालेपछि मुख्यमन्त्री शाक्य र आचार्य अल्पमतमा।

काठमाडौं:= नेकपा एमालेको नेतृत्व रहेको प्रदेश नम्बर १ र बागमती प्रदेश सरकारमाथि संकट आइपरेको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन गरी नयाँ दल दर्ता गरेपछि यी दुई प्रदेश सरकार संकटमा परेका हुन् । लामो समयदेखिको विवादका कारण नेपालले एमाले विभाजन गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माण गर्नुभएको छ । नेपालको साथ छाडेपछि बागमती प्रदेशमा मुख्यमन्त्री बन्नुभएकी अष्टलक्ष्मी शाक्य र प्रदेश नम्बर १ मा मुख्यमन्त्री बन्नुभएका भीम आचार्यको पद संकटमा परेको हो ।

पार्टी दर्ताको प्रमाणपत्र पाएलगत्तै प्रदेशसभा सदस्यहरूले एमाले परित्याग गरिरहेका छन् । प्रदेश नम्बर १ मा १० र बागमती प्रदेशमा १२ जना प्रदेशसभा सदस्यहरूले मंगलबारसम्म नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी रोज्ने निर्णय गरेका छन् । यस्तै, प्रदेश नम्बर २, सुदूरपश्चिम प्रदेश र लुम्बनी प्रदेशमा पनि केही सांसदहरू नेपाल नेतृत्वको पार्टीमा लाग्ने निर्णयका साथ खनाखत गराइरहनु भएको छ ।

नियुक्तिको १३ दिनमै संकट, मन्त्रीले नै साथ छाडे 

नेकपा एमालेमा विवाद चरमोत्कर्षमा पुग्दासम्म माधव नेपालको साथमा रहनुभएकी अष्टलक्ष्मी शाक्य अन्तिम समयमा कित्ता परिवर्तन गरी बागमतीको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । तर, नियुक्तिको दुई हप्तामा नै उहाँ अल्पमतमा पर्नुभएको छ । मंगलबार प्रदेशसभाका १२ जना सदस्यहरूले एमाले छाडेसँगै शाक्यको पद धरापममा परेको हो । मुख्यमन्त्री शाक्यको क्याबिनेटमा रहनुभएका सामाजिक विकासमन्त्री कृष्ण खनालसहित १२ जना प्रदेशसभा सदस्यले मंगलबार नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेर निर्वाचन कार्यालयमा सनाखत गर्नुभएको छ । सनाखत गर्नेहरूमा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठ रहनुभएको छ । दल रोज्ने समय भदौ २२ गतेसम्म भएकाले अझै केही सांसदले दल रोज्न सक्नेछन् ।

भदौ २ गते मुख्यमन्त्री नियुक्त हुनुभएका शाक्यले निर्वाचन आयोगले संसद्लाई पार्टी विभाजन भएको जानकारी गराएको ३० दिनभित्र संसद्मा विश्वासको मत लिनुपर्छ । आयोगले संसद्लाई दल विभाजनसम्बन्धी आधिकारिक रूपमा जानकारी गराएको भोलिपल्ट २३ गते संसद्ले एमाले फुटेर नेकपा (एकीकृत समाजवादी) पार्टीमा रहेका सांसदको बारेमा सूचना निकाल्नेछ ।

मुख्यमन्त्री शाक्यले संसद्मा विश्वासको मत नपाउने प्रायः निश्चित छ । शाक्यलाई माओवादी, कांग्रेस र समाजवादीबाहेकको अन्य सबै साना दलले मत दिँदा पनि पुग्ने देखिँदैन ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादीका तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक÷एक सांसद छन् ।

भीम आचार्यको हालत पनि उस्तै

नेकपा एमालेका सचिवसमेत रहनुभएका प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार पनि नियुक्तिको एक साता नबित्दै अल्मतमा परेको छ । नियुक्तिलगत्तै अल्पमतमा पर्नुभएका मुख्यमन्त्री आचार्यलाई प्रदेशसभाको विश्वास रहेको पुष्टि गर्न निकै सकस पर्ने देखिन्छ । नेपालले नयाँ पार्टी दर्ता गरेपछि एमालेमै रहनुभएका आचार्यले पनि मुख्यमन्त्री पद उपहार पाउनुभएको थियो । उहाँ नेपालको साथ छाडेर एमालेमै बस्ने भएपछि निवर्तमान मुख्यमन्त्री शेरधन राईले राजीनामा दिनुभएको थियो । त्यसपछि उहाँ नियुक्त हुनुभएको थियो ।

उहाँले तत्कालीन समयमा नेपालसँग नजिक रहनुभएका सांसदहरूलाई मन्त्री बनाएर बहुमत जुटाउने प्रयास गरे पनि सफल नहुने देखिएको छ । शुक्रबार उहाँले नेपाल नेतृत्वको पार्टीमा जान सक्ने सम्भावित दुईजनालाई मन्त्री नियुक्त गर्नुभएको थियो । तर, एमालेका १० सांसदले एमाले छाड्ने निर्णय गरेपछि आचार्यलाई समस्या पर्ने देखिएको छ ।

प्रदेश नम्बर १ मा एमालेका राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्री रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काम्बांग, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले एकीकृत समाजवादी पार्टीमा जाने निर्णय गरिसक्नु भएको छ ।

९३ सदस्यीय प्रदेशसभाबाट सरकार बनाउन ४७ सांसदको मत चाहिन्छ । संसद् सचिवालयमा अहिलेसम्म सभामुखसहित एमालेका ५१ सांसद छन् । अहिलेसम्मको अवस्था अनुसार १० जनाले एकीकृत समाजवादी पार्टी रोज्नेबित्तिकै आचार्य अल्मतमा पर्नुभएको  छ । उहाँलाई विश्वासको मत प्राप्त गर्न ४७ बहुमत सांसद आवश्यक पर्छ ।

यस्तै, प्रदेशसभामा कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादीका तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १÷१ जना छन् । पछिल्लो गणितले प्रदेश नम्बर १ र बागमती प्रदेशमा गठबन्धन सरकार बन्ने देखिएको छ । केन्द्रमा समेत सहकार्य गरिरहेका दलहरूले नै यी प्रदेशहरूमा पनि सरकारको नेतृत्वको गर्ने सम्भावना बढ्दै गएको हो । एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरी ढिलोमा दुई हप्ताभित्र यी प्रदेशहरूमा गठबन्धनको नयाँ सरकार निर्माण हुने हिमालय टाइम्सलाई बताउनुहुन्छ ।

सुदूरपश्चिम : १० सांसद नेपाल नेतृत्वको पार्टीमा

सुदूरपश्चिम प्रदेशमा मंगलबार १० जना प्रदेशसभा सदस्यले नेपाल नेतृत्वको पार्टी राज्नुभएको छ । १३ जनाले नै नेपाल नेतृत्वको पार्टीमा जाने निर्णय गरेपछि कागजात नपुगेका कारण तीन जनाले बुधबार सनाखत गर्ने बताइएको छ ।

प्रादेशिक निर्वाचन कार्यालय पुगेर १० जनाले एकीकृत समाजवादी रोजेका छन् । एकीकृत समाजवादी रोज्नेहरूमा दुर्गा विक, पूर्णा जोशी, माया भट्ट, अम्मरबहादुर साउद, कुलवीर चौधरी,  मना साउद, सुशीला बुढाथोकी, बलबहादुर सोडारी, लालबहादुर खड्का र चुनकुमारी चौधरी रहनुभएको छ । निर्वाचन आयोगको कार्यालयमा पुगेका सांसदहरू दीर्घ सोडारी, तारा लामा तामाङ र अर्चना गहतराजको कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेन ।

विगतमा एमालेकै १७ जना सांसदहरूका कारण माओवादी नेतृत्वको सरकार जोगिएको थियो । मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदा एमालेका सांसदहरूले ह्वीप उल्लंघन गर्दै मत दिनुभएको थियो । अहिले भीम रावलले नेपालको साथ छाडेका कारण केही संख्या घटे पनि प्रदेशसभाको बहुमत संख्या नेपालको पक्षमा देखिएको छ ।

लुम्बिनीमा घर्तीले रोज्नुभयो एकीकृत समाजवादी

प्रदेशगत हिसाबमा कमजोर मानिएको लुम्बिनीमा एकजना प्रदेशसभा सदस्य नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा खुल्नुभएको छ । समानुपातिकतर्फ पाल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य रमा घर्ती मगरले नेकपा एकीकृत समाजवादी राज्नुभएको हो ।

मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालय दाङ पुगेर घर्तीले आफूले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जानकारी गराउनुभयो । आयोगले लुम्बिनी प्रदेशसभा सचिवालयलाई यसबारे पत्राचार गरेपछि प्रदेशसभामा कायम राजनीतिक दल र प्रदेशसभा सदस्यको अभिलेख अद्यावधिक गर्नेछ । अन्य केही सांसदहरूले समेत एमाले छाड्ने निर्णय गर्नसक्ने उहाँको दाबी छ । योसँगै नेकपा एकीकृत समाजवादीले लुम्बिनी प्रदेशसभामा खाता खोलेको छ । यसअघि पाँच दल रहेकामा अब प्रदेशसभामा प्रतिनिधित्व राजनीतिक दलको संख्या ६ पुगेको छ ।

पार्टी विभाजनपछि दुवै दलले जनप्रतिनिधिहरूलाई आफूतिर तान्ने कसरत गरिरहेका छन् । ८० सदस्यीय प्रदेशसभामा एमालेका ३७ सांसद थिए । घर्तीले नेकपा एकीकृत समाजवादी रोजेपछि अब एमाले सांसदको संख्या ३६ भएको छ ।

एकीकृत समाजवादी प्रदेश २ सरकारमा जाने

नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रदेश २ सरकारमा सहभागि हुने तयारी गरेको छ । २ नम्बर प्रदेशमा नेकपा एमालेका २१ प्रदेश सांसद रहेकोमा १३ जना सदस्यहरू नेपाल नेतृत्वको पार्टीमा खुल्नुभएको छ । नेता शत्रुधन महतोले एकीकृत समाजवादीतर्फका प्रदेश सांसदहरूको प्रदेशसभामा उपस्थित भएर सनाखत गर्ने तयारी रहेको बताउनुभयो । उहाँको अनुसार गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मदन जैन श्रीवास्तव, शत्रुधन महतो, मञ्जु यादव, बेचु लुंगेली, दिल्ली उप्रेती, रविन्द्र बैठा, खुसीमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा र सीता गुरुङ रहेको सांसद महतोले एकीकृत समाजवादी पार्टी चुनेको दाबी गर्नुभयो । सनाखत भने भइसकेको छैन ।

सनाखतलगत्तै दलको बैठक बसेर दलका नेता चयन र सरकारमा जाने विषयमा निर्णय गर्ने पनि उहाँले बताउनुभएको छ । जनता समाजवादी पार्टीको नेतृत्व रहेको प्रदेश नम्बर २ सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र यसअघि नै सहभागी भइसकेको छ ।

दुईपटक संसद् विघटनको असफल प्रयास गर्नुभएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिएलगत्तै संघ र प्रदेशहरूमा गठबन्धनले आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ । यसअघि ६ प्रदेशहरूमा कम्युनिष्ट सरकार रहेकोमा प्रदेश नम्बर १ र बागमतीबाहेक अहिले सबै प्रदेशमा गठबन्धन सरकार रहेको छ । बागमती र प्रदेश नम्बर १ मा पनि छिट्टै गठबन्धनको नयाँ सरकार बन्ने संकेत देखापरेको छ ।