काठमाडौं:= कुशल अभिनय क्षमता प्रदर्शन गर्ने नायिकाका रूपमा स्थापित शुभेच्छा थापा अभिनयसँगै चलचित्र निर्माण, लेखन र निर्देशनमा स्थापित हुनुहुन्छ । त्यसैले त कोरोना कालमा पनि उहाँलाई खाली बस्नु परेन, काममाथि काम थपिइरहेको छ । कहिले सिरियल त कहिले म्युजिक भिडियोको सुटिङले उहाँलाई फुर्सदले बस्न मिलेको छैन ।
दुई दशक लामो समयदेखि विभिन्न चलचित्रमा ग्रामीण युवतीदेखि बोल्ड नायिकासम्मको अभिनय गरेर दर्शकको मन जित्दै आउनुभएकी शुभेच्छाले रंगमञ्चदखि सानो र ठूलो पर्दाका चलचित्रसम्म आप्mनो कुशल अभिनय क्षमता प्रदर्शन गर्दै आउनुभएको छ । दश वर्षको उमेरदेखि नै नाटकमा अभिनय गर्न थाल्नुभएकी शुभेच्छाले १९ वर्षअगाडि निर्देशक बद्री अधिकारीको टेलिसिरियल सहयात्रीमा अभिनय गर्नुभयो । सहयात्रीमा गरेको अभिनय रुचाइएपछि उहाँलाई टेलिसिरीयलहरूबाट भटाभट अफर आउन थाल्यो । त्यपपछि शुभेच्छाले धु्रव तारा नामक चलचित्रमा नायिकाको रूपमा अभिनय गर्नुभयो । त्यसमा गरेको अभिनयपछि उहाँले पछाडि फर्केर हेर्नुपरेन । लगातार चलचित्रमा व्यस्त हुन थाल्नुभयो ।
धु्रव तारापछि उहाँले त्रोध, बदमास, आँधी तुफान, अग्नि ज्वाला, प्रहार, कन्यादान, चिनो, मृत्युदण्ड, काठमाण्डु, मंगलसुत्र, मिस नेपाल, मेरो एउटा सपना छ, निर्जला, दामिनी, आजका युवा युवा, डेस्टिनेशन काठमाडौं, मखमली, मखमली-२, कब्जा, विन्दास-३, दिलदार, शिवम, को हुँ मजस्ता झण्डै तीन दर्जन फिल्मका विभिन्न भूमिकामा अभिनय गरेर दर्शकको मन जित्नुभयो । त्यसबाहेक हिजो अनि भोलि, अतीत, सायद त्यो दिन, द कलेज, यातना, खुशी पलभरको, जीवन चक्र, घुस पुराण, यहाँको चलन, बुद्धको देश, कलेजी, लाखौं हजारमाजस्ता डेढ दर्जन बढी टेलिफिल्ममा अभिनय गर्नुभएकी शुभेच्छा साधारणदेखि बोल्ड अवतारसम्म प्रस्तुत भएर चर्चामा रहने गर्नुभएको छ ।
आफ्नो होम प्रोडक्सन शुभेच्छा सिने फ्रेम प्रालिबाट पति अनिल थापाका को हुँ म, मिस नेपाल, मखमली, लक्ष्मी रानी, टाइगर : द रियल हिरो, विन्दा ३ जस्ता चलचित्र निर्माण गर्नुभएकी उहाँले अभिनय क्षेत्रबाट पाएको अनुभवलाई पर्दामा उतार्न लक्ष्मी रानी नामक चलचित्रबाट निर्देशन यात्रा पनि सुरु गर्नुभयो । अभिनय, फिल्म निर्माण र निर्देशनसँगै केही नाटक, टेलिफिल्म र चलचित्रको स्क्रिप्ट लेखेनमा उहाँले आफूलाई संलग्न गराउँदै आउनुभएको छ ।
शुभेच्छाका अनुसार देशमा कोरोना महामारी नभएको भए उहाँ यतिखेर झण्डै आधा दर्जन चलचित्रका काम हुनुहुन्थ्यो । ‘केही चलचित्रमा अभिनय गर्ने सम्झौता भएको थियो भने केही चलचित्र आआफैँले निर्माण गर्ने र निर्देशन गर्ने योजना थियो’ शुभेच्छाले सुनाउनुभयो ‘तर कारोना जोखिमका कारण थुप्रै योजना थन्किएका छन् । कोरोना जोखिम घट्नासाथ सुटिङ फ्लोरमा जाने सोच छ । यो बीचमा केही सिरियलमा भने काम गरियो ।
सुरक्षाको मापदण्ड पालना गरेर रमाइलो टिभीबाट प्रसारण हुने पारिवारिक सिरियल कुल खानदानमा काम गरियो । नेपाल टेलिभिजनबाट प्रसारण हुने आमा सबैकी र दुई स्वास्नीकी पोइ कुना पसी रोईजस्ता सिरियलमा काम गरियो । यही बीचमा केही म्युजिक भिडियोमा पनि काम गरियो । कोरोना महामारीकै कारण लक्ष्मी रानी युट्युबमा सार्वजनिक गर्नुपर्यो । कोरोना कहरपछि सामाजिक कथामा लक्ष्मी रानी बनाउन स्त्रिप्ट पनि तयार गरिरहेकी छु ।’
दिलवाले, अमर प्रेमजस्ता भोजपरी चलचित्र र बंगाली चलचित्र स्वर्ण मुद्रामासमेत अभिनय गर्नुभएकी शुभेच्छाका दिलदार, अमरप्रेमजस्ता चलचित्र रिलिज हुन बाँकी छन् ।




















