डर्टमन्डको रोमाञ्चक जित।

लन्डन:= जर्मन बुन्डेस लिगमा बोरुसिया डर्टमन्डले रोमाञ्चक जित निकालेको छ । शुक्रबार रातिको खेलमा डर्टमन्डले होफेनहाइमलाई ३-२ गोल अन्तरले हराएको हो । दोस्रो जित निकाल्नेक्रममा डर्टमन्डलाई जिताउन जिओभानी रायना, जुड बेल्लिराम र एर्लिङ ब्राउट हाल्यान्डले एक-एक गोल गर्नुभयो ।

यस्तै, होफेनहाइमका लागि क्रिस्टोफ र मुनास डाबरले एक-एक गोल गर्नुभएको थियोे । पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा भएको एक गोल नै निर्णायक बन्यो । ९० मिनेटपछि थपिएको समयमा हाल्यान्डले गोल गरेर टिमलाई ३-२ को रोमाञ्चक जित दिलाउनुभएको हो । तीन खेलबाट ६ अंक जोडेको डर्टमन्ड पहिलो स्थानमा उक्लिएको छ । पराजित होफेनहाइम तीन खेलबाट चार अंकसहित चौथो स्थानमा छ ।

यता इटालियन सिरिज ‘ए’ मा साबिक विजेता इन्टर मिलानले लगातार दोस्रो जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा घरेलु टोली हेलास भेरोनालाई ३-१ गोल अन्तरले हराउँदै इन्टरले लगातार दोस्रो जित निकालेको हो । इन्टरको जितमा तीनवटै गोल कोपा अमेरिकी विजेता अर्जेन्टिनाका स्टार खेलाडीले गर्नुभएको थियो । जोआक्विन कोरियाले दुई गोल गर्दा लौटारो मार्टिनेजले एक गोल गर्नुभएको थियो । पराजित भेरोनाका लागि इभान इलिकले एक सान्त्वना गोल गर्नुभयो ।

खेलमा अग्रता भने घरेलु टोली भेरोनाले बनाएको थियो । उसका इभानले १५ मिनेटमा गोल गर्नुभएको थियो ।  लौटारो मार्टिनेजले ४७ मिनेटमा गोल गर्दै खेल बराबरीको स्थितिमा ल्याउनुभयो । खेलको ८३ र थपिएको चार मिनेटमा गोल गर्दै परिवर्तित खेलाडी कोरियाले टोलीलाई जित दिलाउनुभयो ।जितसँगै दुई खेलबाट ६ अंक बनाएको इन्टर शीर्षस्थानमा रहेको छ । यता भेरोना भने दुई खेलबाट बिनाअंक १८औं स्थानमा छ ।