हृवाटमोरले किन दिनुभयो अचानक राजीनामा?

काठमाडौं:= नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ हृवाटमोरले ओमान सिरिजपछि बिदा हुने गरी राजीनामा दिनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) लाई ईमेल पठाउँदै उहाँले आसन्न नेपाल, ओमान र अमेरिकाबीचको विश्वकप लिग दुईको त्रिकोणात्मक क्रिकेट सिरिजपछि आश्चर्यजनकरूपमा नेपाली टोलीबाट बाहिरिने जानकारी गराइसक्नुभएको छ ।

हृवाटमोरले नेपाल क्रिकेट संघलाई आफ्नो एजेन्टमार्फत् ईमेल गर्दै राजीनामाको जानकारी दिनुभएको हो । हृवाटमोरले पठाएको पत्रमा परिवारबाट टाढा रहेर कोरोना महामारीकालमा काम गर्न कठिन भएका कारण पद छाड्ने निर्णयमा पुगेको उल्लेख गर्नुभएको छ ।

‘ओमानमा सेप्टेम्बर १९ सम्म चल्ने विश्वकप लिग-२ सकिएलगत्तै नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिन यो पत्रमार्फत् जानकारी गराउन चाहन्छु । निकै सोचविचार गरेर मैले यो निर्णय लिएको हुँ जुन निर्णयमा पुग्न मैले गहिरो चिन्तन गरेको थिएँ,’ हृवाटमोरले क्यानलाई पठाएको पत्रमा उल्लेख छ ।

उहाँको राजीनामाले भने ओमान भ्रमणलाई असर नगर्ने बताइएको छ । हाल उहाँ त्रिकोणात्मक सिरिजका लागि ओमानमा रहनुभएको छ । ओमान सिरिज यही भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुनेछ । उक्त सिरिजमा नेपालले ओमान र अमेरिकासित दुई/दुई खेल खेल्ने तय भएको छ ।

श्रीलंकालाई सन् १९९६ को विश्वकप उपाधि दिलाउनुभएका ६७ वर्षे हृवाटमोर जनवरीमा मात्र नेपालको प्रशिक्षकमा नियुक्त हुनुभएको थियो । उहाँको क्यानसँग डिसेम्बरसम्म सम्झौता रहेको थियो । तर, चार महिनाअगाडि नै उहाँले प्रशिक्षक पदबाट राजीनामा दिनुभएको हो ।

नेपाली टोली सेप्टेम्बर २० सम्म ओमान भ्रमणमा रहनेछ । पपुवा न्युगिनीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेलेपछि नेपालले ओमान र अमेरिकासँग लिग दुईका खेल खेल्दैछ । हृवाटमोरको प्रशिक्षणमा नेपालले वैशाखमा काठमाडौंमा नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक ट्वान्टी-२० शृंखला जितेको थियो । नेपालको प्रशिक्षकका रूपमा यो उहाँको पहिलो प्रतियोगिता थियो । ओमानमा हृवाटमोरको प्रशिक्षणमा नेपालले खेल्न लागेको केवल दोस्रो प्रतियोगिता हो ।

उहाँ यसअघि पाकिस्तान, जिम्बावे, बंगलादेश र सिंगापुरको पनि प्रशिक्षक रहिसक्नुभएको छ । हृवाटमोर २०१० र २०११ को सिजनमा इन्डियन प्रिमियर लिग टोली कोलकाता नाइट राइडर्सका प्रशिक्षक नियुक्त हुनुभएको थियो ।

हृवाटमोरको राजीनामापछि क्यानले विज्ञप्ति जारी गर्दै हृवाटमोरको राजीनामा अप्रत्याशित भएको बताउँदै चकित पारेको बताएको छ । ‘प्रशिक्षक हृवाटमोरको अचानक राजीनामाबाट नेपाल क्रिकेट संघ चकित छ । उहाँले व्यक्तिगत कारण देखाउँदै ओमान भ्रमणपछि तुरुन्त लागू हुने गरी राजीनामा घोषणा गर्नुभएको छ । उहाँले यो वर्षको सुरुवातमा क्यानसँग एकवर्षे अनुबन्ध गर्नुभएको थियो,’ क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले प्रशिक्षक हृवाटमोरले राजीनामा ईमेल गरेको जानकारी दिनुभयो । उहाँले कोरोनाका कारण परिवारसँग टाढा रहनुपर्दा व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको ईमेलमा उल्लेख गरिएको बताउनुभयो । हृवाटमोरसँग आफूले एकपल्ट कुरा गरेर राजीनामा फिर्ता लिन अनुरोध गर्ने चन्दले बताउनुभयो ।