‘काबुल विष्फोटका योजनाकार मारिए’

काबुल:= अमेरिकी सेनाले ड्रोन आक्रमणमा काबुल विष्फोटका एकजना योजनाकार मारिएको दाबी गरेको छ । पूर्वी अफगानिस्तानमा गरिएको ड्रोन आक्रमणमा इस्लामिक संगठन आइएस केका एकजना योजनाकार मारिएको अमेरिकी सेनाले दाबी गरेको हो ।

अफगानिस्तानमा रहेको इस्लामिक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको र उक्त आक्रमणमा इस्लामिक स्टेट खोरसान (आइएस–के) भन्ने समूहका सदस्यहरूको मृत्यु भएको अमेरिकी सेनाले बताएको हो । अमेरिकाले नानगहार प्रान्तमा गरिएको सो कारबाहीमा एउटा ड्रोनको प्रयोग गरिएको शनिबार पुष्टि गरेको छ । यसअघि अमेरिकी सैनिकहरूले काबुल विमानस्थलमा सुरक्षा दिइरहेका समय बिहीबार विमानस्थल नजिकै १७० जनाको ज्यान लिनेगरी उक्त समूहले आक्रमण गरेको थियो । काबुल विमानस्थल बाहिर उद्धार पर्खाइमा रहेको महिला, पुरुष र बालबालिकाको भिडमा उक्त आत्मघाती विष्फोट गराएको थियो ।

आइएस–केले विमानस्थलमा भएको आक्रमणको जिम्मेवारी लिएको थियो । सो समूहले काबुल विमानस्थल बाहिर रहेको महिला, पुरुष र बालबालिकाको भिडमा आत्मघाती विष्फोटन गराएको थियो । यसैबीच काबुलमा रहेका अमेरिकी अधिकारीले थप आक्रमणलाई ध्यान दिँदै विमानस्थलको प्रमुख क्षेत्रहरूभन्दा परै बस्न नयाँ चेतावनी जारी गरेका छन् ।

त्यस्तै, वरिष्ठ तालिवान अधिकारीले उनीहरूले काबुल विमानस्थलको मुख्य भाग नियन्त्रणमा लिएको र अमेरिकीहरू जाने बित्तिकै सम्पूर्ण विमानस्थल कब्जामा लिने बताएका छन् । अमेरिकाले अन्तिम समयसम्म अफगानहरूको उद्धार जारी राख्ने र विमानस्थल अझै पनि आफ्ना फौजको नियन्त्रणमा रहेको बताइरहेको छ । अमेरिकाले नानगहारमा गरिएको ड्रोन आक्रमणबारे प्राप्त ‘प्रारम्भिक संकेतहरूले’ इस्लामिक स्टेटका सदस्य मारिएको र कुनै पनि गैरसैनिक हताहत नभएको बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले बिहीबारको आत्मघाती आक्रमणमा संलग्न जिहादीलाई अमेरिकाले नछाड्ने बताएको केही घण्टापछि उक्त कारबाही गरिएको छ । इस्लामिक स्टेट समूहको एउटा सानो संगठनका रूपमा रहेको उक्त समूह अफगानिस्तानको सबैभन्दा उग्र र हिंसात्मक जिहादी लडाकू समूह हो ।

यता सन् २०२१ को अन्त्यसम्ममा थप पाँच लाखभन्दा बढी अफगानिस्तान नागरिकलाई विदेशमा शरणार्थीका रूपमा व्यवस्थापन गर्न तयारी गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघ शरणार्थीमामिला हेर्ने निकायकी उप उच्चायुक्त केली क्लेमेन्ट्सले सञ्चारकर्मीहरूसँग भन्नुभयो, ‘हामी यस क्षेत्रमा लगभग पाँच लाख नयाँ शरणार्थीहरूको व्यवस्थापन तयारी गर्दैछौं । यो पक्कै सुखद् अवस्था होइन ।’

अफगानिस्तानमा तालिवान समूह राजधानी काबुलसमेत करिब सबै प्रान्त कब्जा गरेपछि तालिवान समूहले यस पहिले देखाएका अतिवादी क्रियाकलापका कारण अफगानिस्तानमा रहेका विदेशीका साथै स्वदेशी आम नागरिक तालिवानले गर्नसक्ने कठोर शासनको कल्पना गर्दै काबुललगायत अफगानिस्तानका प्रमुख शहरबाट बाहिरिने क्रम जारी रहेको छ । यद्यपि कतिपय मुलुकले सुरक्षाको समस्या देखाउँदै उद्धार कार्यलाई स्थगित गरेका छन् । तालिवान समूहले भने सबै स्वदेशी तथा विदेशी अधिकारीलाई आफ्नो कारणले देश छोड्नु नपर्ने सञ्चारमाध्यममार्फत् सार्वजनिक अभिव्यक्तिहरूमा बताएको छ ।