काठमाडौं:= अर्थमन्त्री जनार्दन शर्माले देशका १५ लाख युवालाई उत्पादन कार्यमा लगाउने योजनासहित अघि बढ्न युवालाई आग्रह गर्नुभएको छ । योङ कम्युनिष्ट लिग नेपालद्वारा शनिबार भर्चुअलरूपमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
मन्त्री शर्माले युवालाई संगठित गरी समाजवादी अर्थतन्त्र निर्माणमा परिचालन गर्न आग्रह गर्नुभयो । उत्पादन अभियानमा युवाहरू दिलोज्यानले नलागेसम्म संविधानले निर्दिष्ट गरेको समाजवादी अर्थतन्त्रमा जान सम्भव नभएको भन्दै उहाँले १५ लाख युवालाई उत्पादन र रोजगारीमा लगाउने गरी संगठित गर्नुपर्नेमा जोड दिनुभयो ।
समाजमा भएका सांस्कृतिक विभेदविरुद्ध लड्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणको बाटोमा अग्रसर हुनुपर्ने उहाँको भनाइ छ । भ्रष्टाचार अन्त्य र सदाचार संस्कृति निर्माणका लागि समेत युवाको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले त्यसतर्फ अघि बढ्ने गरी कार्यक्रम तय गर्न सुझाव दिनुभयो ।
मन्त्री शर्माले युवा आर्थिकरूपले सक्रिय जनसंख्या भएको नेपालमा विकासका आगामी एक दशकको समय उर्वर रहेको भन्दै सो अवधिमा कडा मिहिनेत गर्नुपर्ने बताउनुभयो ।




















