कलाकारद्धय शाह र केसी पुरस्कृत।

काठमाडौं:= वरिष्ठ कलाकार शशी शाह र चर्चित अभिनेता किरण केसी (रातामकै) पुरस्कृत हुनुभएको छ । उहाँहरू हास्यव्यंग्य साहित्यमा प्रसिद्ध वासुदेव शर्मा लुइँटेलको स्मृतिमा स्थापित पुरस्कारबाट पुरस्कृत हुनुभएको हो । वासुदेव विद्यादेव लुइँटेल गुठीद्वारा शुक्रबार आयोजना गरिएको संक्षिप्त कार्यक्रममा हास्यव्यंग्य चित्रकलातर्फको पुरस्कार वरिष्ठ कलाकार शशी शाहलाई प्रदान गरियो भने हास्यव्यंग्य अभिनयतर्फको पुरस्कार चर्चित अभिनेता किरण केसी (रातामकै)लाई प्रदान गरिएको थियो । यी दुवै पुरस्कारको राशी १ लाख ११ हजार १११ रुपैयाँ छ ।

वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले वासुदेव विद्यादेव लुइँटेल गुठीका पदाधिकारीहरूको उपस्थितिमा पुरस्कृत व्यक्तित्वहरू शाह र केसीलाई पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा किरण केसीले पुरस्कारस्वरूप आफूले पाएको रकम मध्ये ९० प्रतिशत समाजसेवामा खर्च गर्ने जानकारी गराउनुभएको थियो । उक्त अवसरमा गुठीका अध्यक्ष डा.सुषमा आचार्यका कृतिहरू ‘कस्ले सुन्छ मेरो आवाज’ (उपन्यास) र सोको अंग्रेजी अनुवाद ‘हु विल हियर माई भोइस’को रोचक घिमिरे तथा पुरस्कृत स्रष्टाद्वयले लोकर्पण गर्नुभएको थियो ।