पार्टी फुटेको होइन केही मान्छेहरू पतित भएर अर्को बाटो मात्र लिएका हुन्: अध्यक्ष ओली।

काठमाडौं:= नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नभई केही व्यक्तिहरू पतन भएर गएको बताउनुभएको छ । शनिबार नेकपा एमाले महालक्ष्मी नगर कमिटीले ललितपुरमा आयोजना गरेको कार्यक्रममा नुहाउँदा एक-दुई कपाल झरेजस्तै केही मान्छेहरू आफैँ पतन भएर पार्टी छाडेको अध्यक्ष ओलीले टिप्पणी गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘पार्टी फुटेको होइन । केही मान्छेहरू पतित भएका हुन, बिग्रिएका हुन् । ती बिग्रिएका मान्छेहरूले पार्टी छोडेका हुन् ।’

अध्यक्ष ओलीले माधव नेपालहरूलाई एक/दुई वटा कपालको संज्ञा दिनुभएको हो । एक दुई कपाल झर्दैमा टाउँको मुडुलो नहुने उल्लेख गर्नुहुँदै ओलीले नेपाललगायत केही नेताहरूले पार्टी छाड्दैमा कमजोर नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नुहाउँदाखेरि एक, दुईटा कपालको रौं झर्छ । जति दामी साबुन लगाए पनि, राम्रो, ब्रान्डेड साबुन लगाए पनि, छानेको पानीले नुहाए पनि, जेसुकै गरे पनि एक, दुईटा कपाल झर्छ । एक, दुईटा कपाल झर्दैमा टाउको मुडुलो हुन्छ ?’

उहाँले नेपाललगायत केही मान्छे पार्टीबाट चोइटिएर गए पनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि दोहोर्‍याउनुभयो । एक÷दुईवटा पात पहेँलिएर झर्दैमा रूखले चिन्ता नमान्न उल्लेख गर्नुहुँदै उहाँले नेपालसहितका केही मान्छेले पार्टी छोड्दैमा पीर नमान्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब चिन्ता गरेर बस्ने होइन । म कमरेडहरूलाई भन्न चाहन्छु-एक दुईटा पात खस्दैमा पीर मानेर रूख ढल्दैन । एक÷दुईटा पात पहेँलिएर झर्छन् । रूखले पीर मानेर बस्छ ? अर्को टुसो हालिहाल्छ नि । देख्नुभएन कमिटीहरूको टुसो पलाएको ? महिलाहरू कसरी जाग्दैछन् । युवाहरू कसरी जाग्दैछन । त्यसकारण नयाँनयाँ पालुवाहरू पलाउँदैछन् । नयाँनयाँ हाँगाहरू हाल्दैछन् । अझै मजदुत वृक्ष हाँगा फैलिँदै छन् । उचाइतिर जाँदैछ ।’

निर्वाचनमा एमालेसँग एक्लै लड्ने आँट कसैले गर्दैन

अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीसँग एक्लै लड्ने आँट कसैले गर्न नसक्ने दाबी पनि गर्नुभएको छ । अध्यक्ष ओलीले एक्लै लड्ने आँट नभएपछि सत्तारूढ गठबन्धन चुनावी तालमेल गरेर जाने तयारी गर्न बाध्य भएको उहाँको भनाइ छ । आगामी निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी गर्ने कुरा आफूले सुनेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘मोर्चाबन्दी गर्छन् रे । एमालेसँग एक्लै लड्न सकिन्न भन्ने कुरा सबैलाई थाहा छ । एमालेसँग एक्लै लड्न कसैले पनि नचिताए हुन्छ । एमालेसँग एक्लै लड्न कोही सक्दैन-सबैलाई थाहा छ । त्यसकारण मिलाउने अरे, मिलेर लड्ने रे ।’

अध्यक्ष ओलीले एक-एक दर्जन नेतासहितको १० वटा पार्टी मिलेर मोर्चाबन्दी गरे पनि एमालेसँग नसक्ने उहाँले बताउनुभयो । माधव नेपाल र नेपालको पार्टीमा रहेका नेताहरूलाई ‘नक्कली नाम’ को संज्ञा दिँदै उहाँले भन्नुभयो, ‘एक/एक दर्जनको १० वटा पार्टी मिल्यो भने कति हुन्छ ? १० दर्जन जति नै त भयो होला नि, होइन ? एक/एक दर्जन मान्छे भएको १० वटा पार्टी मिल्दा । १० दर्जन भनेको १२० होइन ? १२० जनाको मोर्चा कसेर एमालेसँग लड्ने ? माधव नेपालका नक्कली नामसमेत जोड्दा, दोहोरिएका समेत जोड्दा ५५ जना केन्द्रीय सदस्य र २९ जना सांसद त्यतिजना मिलेर एमालेसँग लड्ने ? उहाँहरू कुरामा लड्न सक्नुहुन्छ । काममा होइन, मैदानमा होइन, व्यवहारमा होइन ।’

‘जालझेल गरी सत्ताबाट हटाइएको हो’

अध्यक्ष ओलीले आफूलाई जालझेल गरेर सत्ताबाट हटाइएको बताउनुभयो । जनादेशबाट नभई विभिन्न जालझेल गरेर आफूहरूलाई सत्ताबाट हटाएको उल्लेख गर्नुहुँदै उहाँले आगामी निर्वाचनमा त्यसको जवाफ दिने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

विचार नभएको, देशको विकास भनेको के हो ? भन्ने थाहा नै नभएकाहरू सत्तामा रहेको उहाँको भनाइ थियो । उहाँले षड्यन्त्रकारीहरूलाई आफ्नो पार्टीले निर्वाचनबाटै एकमुष्ट जवाफ दिनुपर्ने उल्लेख गर्नुहुँदै भन्नुभयो, ‘हामी जनादेशबाट सरकारबाट हटाइएका होइनौँ । जालझेलबाट सरकारबाट हटाइएको हो । चुनाव त आओस् नेकपा एमालेले जवाफ दिनुपर्छ यी सबै कुराहरूको । यी सबै खुद्रा षड्यन्त्रको एकमुष्ट जवाफ दिनुपर्छ एमालेले ।’

अध्यक्ष ओलीले संघीय निर्वाचनमा, प्रदेश निर्वाचनमा कसैलाई पनि जित्न दिन नहुने पनि बताउनुभयो । सबै दलहरूलाई एकतातिर र एमालेलाई एकतातिर जोड्दा पनि सर्लक्कै माथि हुने गरी विजयी हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यिनीहरूलाई कहीँ पनि जित्न दिनु हुँदैन, एमालेले दिँदैन । प्रदेशमा को उठ्छ, एमाले उठ्छ र त्यसले शानदार ढंगले जित्छ । अरू सबैको एकातिर जोड्दा कम्मर-कम्मर मात्रै हुनुपर्दछ उनीहरूको उचाइ । सबै एकातिर जोड्दा नेकपा एमाले सर्लक्कै माथि हुुनुपर्दछ ।’