भ्यालेन्सिया र मालोर्का अपराजित यात्रा।

म्याड्रिड:= भ्यालेन्सिया र मालोर्काले स्पेनिस ला लिगामा अपराजित यात्रा कायम राखेका छन् । घरेलु मैदान मेस्टाला स्टेडियममा शुक्रबार राति भएको खेलमा भ्यालेन्सियाले डिर्पोटिभो अलाभेसलाई ३-० गोलले हरायो । अर्को खेलमा मालोर्काले स्पान्योललाई १-० गोलले स्तब्ध बनायो ।

जितसँगै भ्यालेन्सिया तालिकाको शीर्षस्थानमा उक्लिएको छ । तीन खेलमा अपराजित भ्यालेन्सियाले सात अंक बनाएको छ । समान सात अंक बनाएको मालोर्का दोस्रो स्थानमा उक्लिएको छ । मालोर्का गोल अन्तरका आधारमा पछाडि छ । भ्यालेन्सियासँग पराजित अलाभेस अंकविहीन बन्दै तालिकाको अन्तिममा छ । दुई अंक बनाएको स्पान्योल १५औं स्थानमा छ ।

एकपक्षीय खेलमा भ्यालेन्सियालाई जिताउन ड्यानियल वास, कार्लाेस सोलेर र गोन्कालो गुइडेसले गोल गर्नुभयो । पहिलो हाफमा दुई गोल गरेको भ्यालेन्सियाका लागि ड्यानियलले तेस्रो मिनेटमै खाता खोल्नुभयो । उहाँले डेनिस चेरिसेभको पासमा गोल गर्नुभएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा कार्लोस सोलेरले गोन्कालो गुइडेसको पासमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाउनुभयो ।

६०औं मिनेटमा गोन्कालो गुइडेसले म्याक्सिमिलियानो गोमेजको पासमा गोल गर्दै भ्यालेन्सियालाई सहज जित दिलाउनुभयो । भ्यालेन्सियाले ५२ प्रतिशत बल पोसेसनमा राखेको थियो । यता ४८ प्रतिशत बल पोसेसनमा राखेको अलाभेसले गोल फर्काउन सकेन । भ्यालेन्सियाका मिडफिल्डर कार्लोस सोलेर ‘म्यान अफ दी म्याच’ हुनुभयो ।

घरेलु मैदानमा खेलिएको अर्को प्रतिस्पर्धात्मक खेलमा मालोर्कालाई जिताउन डानियल रोड्रिग्वेज नायक बन्नुभयो । डानियलले २७औं मिनेटमा स्पान्योलको डिफेन्सको कमजोरीमा गोल गर्नुभएको थियो । यता खेलको अन्तिममा १० खेलाडीमा समेटिएको स्पान्योल हार खेप्न बाध्य बन्यो । इन्ज्युरी समयमा सर्गी गोमेज सोझै रातो कार्ड पाउँदै बाहिरिनुभएको थियो । मालोर्काका जापानी विङगर टेकफुसा कुबो ‘म्यान अफ दी म्याच’ हुनुभयो ।

ला लिगाअन्तर्गत शनिबार राति रियल म्याड्रिड र रियल बेटिस, लिभान्ते र रियल सोसिडाड, एथलेटिक बिल्बाओ र सेल्टाभिगो तथा सेभिया र इल्चेबीच प्रतिस्पर्धा हुनेछ ।