‘काँडेतार’मा गौरव अनुबन्धित।

काठमाडौं:= निर्देशक तथा कलाकार नवल खड्काले बनाउने नयाँ चलचित्र ‘काँडेतार’का लागि नायक गौरव पहारी अनुबन्धित हुनुभएको छ । तिहारलगत्तमै छायांकनमा जाने फिल्ममा नवलसँगै शंकर कार्कीको निर्देशन रहने बताइएको छ।

निर्देशक खड्काले मंगलबार गौरवसँग सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । गौरवले हालैमात्र चलचित्र ‘लाइफ इन एलए’को छायांकन पूरा गर्नुभएको छ । केही समयअघिदेखि नेपाल र भारतको सीमामा काँडेतार लगाउनुपर्ने माग राख्दै आउनु भएका निर्देश नवलले अहिले ‘काँडेतार’ नाममै चलचित्र निर्माणको घोषणा गर्नुभएको हो।

चलचित्रमा गौरवले नेपाल र भारत सीमा क्षेत्रमा बस्ने एक विद्रोही युवाको भूमिका निर्वाह गर्ने बताइएको छ । नवलको यो चलचित्र लामो समयदेखि चर्चामा रहँदै आएको छ । उहाँले सामाजिक सञ्जालमार्फत आफूले फिल्म ‘काँडेतार’ बनाउने जानकारी गराए पनि हालसम्म कलाकार छनोट गर्नुभएको थिएन ।

यसअघि चलचित्र ‘दशगजा’ बनाउनु भएका नवलले चलचित्र ‘काँडेतार’ले आफ्नो माटो र मान्छेको मात्र संरक्षण गर्ने नभई असल छिमेकी सद्भाव कायम राख्नेमा विश्वास व्यक्त गर्नुभएको छ।