राष्ट्रिय महिला टोलीमा सात नयाँ खेलाडी।

काठमाडौं:= अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेको छ । एन्फाले आगामी एएफसी महिला एसिया कप छनोट २०२२ का लागि २३ सदस्यीय टोली घोषणा गरेको हो ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले महिला टोलीको टिममा सात नयाँ खेलाडीलाई स्थान दिनुभएको छ । जसमा एपीएफबाट राष्ट्रिय लिग खेलेकी प्रीति राईसहित निशा थोकर, रजनी थोकर, रश्मी घिसिङ, सविता राना, विमला विक र सिर्जना सिंह रहनुभएको छ ।

शर्मिला थापाले टोलीमा स्थान बनाउन सक्नुभएन । यस्तै पहिलो चरणमा कोरोनाका कारण रेखा पौडेल टोलीबाहिर रहनुभयो । यस्तै घुँडाको शल्यक्रिया गरेकी स्ट्राइकर सावित्रा भण्डारी साम्बासमेत टोलीबाहिर रहनुहुन्छ । नेपाली टिमले छनोट खेलमा सेप्टेम्बर १८ मा फिलिपिन्सको सामना गर्नेछ । यस्तै २१ तारिखमा हङकङको सामना गर्नेछ । यसअघि खेल नेपालमा हुने भनिए पनि कोरोना महामारीका कारण उज्वेकिस्तानमा सरेको छ ।

घोषित नेपाली टोलीको गोलरक्षकमा अन्जना राना मगर, एन्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ, डिफेन्डरमा अमृता जैसी, विमला विक, गीता राई, हिराकुमारी भुजेल, निशा थोकर, पूजा राना, पुनम जर्घा मगर, सिर्जना सिंह हुनुहुन्छ ।

यस्तै मिडफिल्डरमा अनिता बस्नेत, दिपा राई, मञ्जलीकुमारी योञ्जन, प्रीति राई, रजनी थोकर, रेनुका नगरकोटी, सविता राना र स्ट्राइकरमा अनिता केसी, विमला चौधरी, इन्दिरा राई, रश्मी घिरिङ, सरु लिम्बू हुनुहुन्छ ।