सरकारले देश जोगाउन होइन प्रतिपक्षी फुटाउन अध्यादेश ल्याएको हो:ओली।

‘एमालेको कारबाही रोकेर सभामुखले राजनीतिलाई गिजोल्न खोज्नुभयो ‘

काठमाडौं:= प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले देश जोगाउनका लागि अध्यादेश ल्याएको भनेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झुट बोलेको दाबी गर्नुभएको छ । बुधबार देशको पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा पत्रकार सम्मेलन गरी उहाँले आफूले पहिला जारी गरेको अध्यादेश र अहिले सरकारले जारी गरेको अध्यादेशको उद्देश्य र मनशाय नै फरक रहेको दाबी गर्नुभयो । उहाँले अध्यक्ष दाहाललाई देशका अगाडि बेइमानी कुरा नगर्न पनि चेतावनी दिनुभयो ।

‘एमाले पार्टी फुटाउनका लागि ल्याएको अध्यादेशलाई देश जोगाउनका लागि भन्ने ?,’ उहाँले भन्नुभयो, ‘पहिले आफूले जारी गरेको अध्यादेश र अहिले जारी गरिएको अध्यादेशमा उद्देश्यमा, मनशायमा फरक छ । सरकारले अनुचित बाटोबाट कानुन निर्माण गरेर प्रतिपक्ष पार्टी फुटाउने कार्य अनैतिक हो । यो नैतिक कार्य होइन ।’

अध्यक्ष ओलीले वर्तमान सरकारले कामै नगर्ने दाबीसमेत गर्नुभयो । आफ्नो नेतृत्वको सरकारलाई कामै गर्न नदिएको बताउँदै उहाँले वर्तमान सरकार विकास निर्माणको काम ठप्प पारेको आरोप लगाउनुभयो । उहाँले दीर्घकालीन आयोजनाहरूको काम अघि नबढाउन सरकारले परिपत्र गरेको उल्लेख गर्दै आक्रोश पोख्नुभएको थियो । उहाँले मेलम्ची खानेपानीको आयोजना आगामी वैशाखभित्र काठमाडौं ल्याउने कुरा गरे पनि सरकारले सोहीअनुसारको काम अघि बढाउन नसकेको बताउनुभएको थियो । ‘हिजो सरकारलाई काम गर्न दिइएन । काम गर्न पाएन धेरै । अहिलेको सरकार कामै गर्दैन । भत्काउने काम गर्छ, बिगार्ने काम गर्छ । दीर्घकालीन आयोजनाहरू रोक्नु भनेर सरकारले परिपत्र गरेको छ । पुनर्निर्माण प्राधिकरणले काम गर्दै थियो । त्यसका इञ्जिनियरहरूलाई तलबको समेत व्यवस्था गरिएको छैन,’ उहाँले भन्नुभयो, ‘विकास, निर्माणको काम ठप्प भएको छ । जुन कामको ठेक्का लागेको थियो, ती कामहरू मात्रै चालु छन् । अरू नयाँ कामहरू हुनेवाला छैन । ठेक्का लाग्नेवाला पनि छैन । मेलम्चीको पानी वैशाखसम्म काठमाडौं आउने भनिएको छ । तर, त्यो पानी पनि आउनेवाला छैन । किनभने गफले पानी आउँदैन, कामले पानी आउने हो ।’

अध्यक्ष ओलीले माधव नेपालसहितका पार्टीले निष्कासन गरेका १४ जना सांसदहरूलाई कारबाही गरेको सूचना जारी नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको चर्को आलोचना गर्नुभएको थियो । उहाँले पार्टीले निष्कासन गरेका आफ्ना सांसदहरूको मुद्दा विचाराधीन छ भनेर सभामुख सापकोटाले राजनीतिलाई गिजोल्ने काम गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

‘निर्वाचन आयोगलाई संसद् सचिवालयले गत १ गते एमालेबाट १४ जना सांसदलाई निष्कासन गरिएको पत्र आएको र त्यो विचारधीन रहेको बताएको छ । कारबाही गरिएका व्यक्तिहरूको सूचीसमेत निर्वाचन आयोगमा पठाउँछ । त्योभन्दा बेइमानी के हुन्छ ?,’ उहाँको प्रश्न थियो ।

अध्यक्ष ओलीले माधव नेपाललाई पार्टी फुटाउन सहज बनाउनका लागि सरकारले कानुन बनाउने काम गरेको बताउनुभयो । ‘एउटा व्यक्तिलाई सजिलो बनाउनका लागि कानुन निर्माण गर्दै जाने ? एउटा पार्टी फुटाएर प्रतिपक्षलाई कमजोर पार्न रातारात षडयन्त्रपूर्ण खेल खेल्न पाइँदैन । जो अहिलेको सरकारले खेल्यो,’ उहाँले भन्नुभयो, ‘शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँ जस्तो लोकतान्त्रिक आन्दोलनमा लामो समय बिताएको मान्छेले लोकतान्त्रिक मूल्यमान्यता छाडेर जे काम गरिएको छ, त्यसप्रति म आश्चर्यचकित भएको छु ।’

माधव नेपाल एमाले विभाजनमा लाग्नु दुर्भाग्यपूर्ण : भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले माधवकुमार नेपाल पार्टी विभाजनमा लाग्नु दुर्भाग्यपूर्ण रहेको बताउनुभएको छ । पार्टी एकताको सन्देश र नेता कार्यकर्तामा उत्साह दिन पार्टी अध्यक्ष ओलीले गरेको विशेष पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ताको जिम्मेवारीमा फर्किनुभएका भट्टराईले पार्टी विभाजन दुर्भाग्यपूर्ण रहेको टिप्पणी गर्नुभयो ।

पार्टीभित्र उत्पन्न समस्याका कारण देशभरका नेता कार्यकर्तामा केही निराशा उत्पन्न भए पनि त्यसको समाधानका लागि पहल गरिएको उहाँले बताउनुभयो । ती समस्या समाधान गर्न अध्यक्ष ओली र नेता नेपालको सहमतिमा कार्यदल बनेको पनि उहाँले स्मरण गर्नुभयो । ‘कार्यदलले एकताका लागि अथक मिहिनेत गरेको थियो’, उहाँले भन्नुभयो, ‘तर आफैँले बनाएको कार्यदलले बनाएको १० बुँदे सहमतिलाई बेवास्ता गर्दै एमाले विभाजन गर्ने काममा माधव नेपाल लाग्नुभयो, यो दुर्भाग्यपूर्ण कुरा हो ।’

एमाले फुटाउन अहिले पनि विभिन्न शक्ति केन्द्र लागिरहेका नेता भट्टराईले बताउनुभयो । ‘जनपक्षीय चरित्र बोकेको, नेपालको संस्कृतिको प्रतिनिधित्व गरेको जनताको लोकप्रिय पार्टी एमालेको विभाजनले कसैको पनि हित गर्दैन’, उहाँले भन्नुभयो । उहाँले मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले सबै नेताहरूलाई विभाजनतिर नजान पनि आग्रह गरेको बताउनुभयो ।