पौडेल पक्षका जिल्ला सभापतिहरूको रिले अनशन सुरु।

काठमाडौं:= नेपाली कांग्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूले रिले अनशन सुरु गरेका छन् । क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्नेलगायत तीन बुँदे माग राख्दै उनीहरूले केन्द्रीय कार्यालय सानेपामा रिले अनशन बसेका हुन् ।

तीन बुँदे मागसहित २४ घण्टे रिले अनशनको पहिलो दिन काभ्रेका सभापति मधु आचार्य, नुवाकोटका जगदीश्वर नरसिंह केसी र धादिङका रमेश धमला अनशनमा बसेको सिन्धुपाल्चोकका जिल्ला सभापति विकास लामाले जानकारी दिनुभयो । तीन जिल्लाका सभापति २४ घण्टा बसेपछि अन्य जिल्लाका तीन जना बस्ने तयारी रहेको उहाँले बताउनु भयो । आफ्ना माग सुनुवाइ गर्न भन्दै मंगलबार केन्द्रीय कार्यालयमा धर्ना दिँदा पनि नेतृत्वले माग सुनुवाइ नगरेको भन्दै रिले अनशन सुरु गरिएको उहाँले बताउनुभयो ।

यसैबीच कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले ४० जिल्लाको क्रियासिल सदस्यता विवाद समाधान भईसकेको बताउनुभएको छ । यो पूर्ण भईसकेको क्रियासिल सदस्यको विवरण निर्वाचन समितिलाई बुझाउन खोज्दा पूरै जिल्लाको बुझ्ने र आधा नबुझ्ने समितिले जनाएपछि यो विवाद अझ जटिल बन्दै गएको छ ।

क्रियाशीलको सूची छिटो सार्वजनिक गर्न नेताहरूको माग

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलित जिल्ला सभापतिहरूको माग सम्बोधन हुनुपर्ने बताउनुभएको छ । रिले अनसन गरिरहेका जिल्ला सभापतिको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उहाँले सदस्यको सूची हेर्न पाउनुपर्ने भन्दै आन्दोलित जिल्ला सभापतिहरूको माग तत्काल सम्बोधन हुनुपर्ने बताउनुभयो । उहाँले सभापति शेरबहादुर देउवालाई सूची सार्वजनिक गर्नसमेत माग गर्नुभयो । उहाँले अझै पनि तोकिएको समयमा महाधिवेशन हुनेमा आशंका रहेको बताउनुभयो । भदौ १८ गते वडा अधिवेशन सुरु गर्ने गरी ल्याइएको नयाँ कार्यतालिका कार्यान्वयन हुनेमा आशंका रहेको उहाँको भनाइ छ ।

त्यस्तै, कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले तत्काल क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्नुपर्ने बताउनुभयो । सानेपामा सुरु भएको जिल्ला सभापतिहरूको रिले अनशनलाई सम्बोधन गर्दै डा. कोइरालाले क्रियाशील सूची सार्वजनिक गर्न माग गर्नुभयो । उहाँले जिल्ला सभापतिहरूको माग जायज भएको समेत बताउनुभयो ।

यसअघि बुधबार बिहान वरिष्ठ नेता पौडेलसहितका नेताहरूले नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल गरेको थिए । उक्त छलफललमा नेताहरूले केन्द्रीय कार्यालय सानेपामा गएर धर्नामा ऐक्यबद्धता जनाउने निर्णय गरेका थिए । छलफलमा वरिष्ठ नेता पौडेलसहित, शेखर कोइराला, नेता सिंह, अर्जुननरसिंह केसी र बलबहादुर केसीलगायत सहभागी हुनुहुन्थ्यो ।